
जनकपुरधाम-जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीहरुले तलव भत्ताको माग गर्दै कलेज केन्द्रिय प्रशासनमा धर्ना सहित तालाबन्दी गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पतालमा कर्मचारीले महिनौ देखिको नपाएको तलव, भत्ता अविलम्ब दिनुपर्ने ६ बुन्दे माग सहित उनीहरु अस्पताल प्रशासनमा धर्ना दिदै तालाबन्दी गरेका हुन्।
उनीहरुले कर्मचारी सरुवा तथा बर्खास्त गरिएका कर्मचारीहरु अविलम्ब फिर्ता हुनुपर्ने, २०७४÷चैत १२ गते मेडिकल कलेजका सञ्चालक गणेश लामा र कामेश्वर साहबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कलेजमा वर्षैदेखि कार्यरत कर्मचारीलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, पठन पाठन नियमित हुनुपर्ने लगायतका माग राख्दै उनीहरु हडतालमा उत्रेका हुन् ।
विगत १४ महिना देखि तलब–भत्ता नपाएको भन्दै आईतवार देखि अस्पतालको आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।
गत बिहीबार बसेको प्राध्यापक, चिकित्सक लगायत सम्पूर्ण कर्मचारीको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै आईतवार देखि हडताल गरेका छन् ।
चौध महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चय कोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण गरिरहेको कर्मचारीले आरोप लगाएका छन्।
उनीहरुले आफुहरुको माग सम्बोधन नभए आगामी बैशाख २९ गते देखि आकस्मिक सेवा समेत बन्द गर्ने जानकी मेडिकल कलेज कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले चेतावनी दिएका छन्।
जानकी मेडिकल कलेजमा कार्यरत चिकित्सक, कर्मचारी लगायत ४०० कर्मचारीहरुको १४ महिनाको तलव भत्ता गरी झन्डै रु २८ करोड बाँकी रहेको छ । समयमा तलब भत्ता नदिँदा मेडिकल कलेजमा ताला बन्दी सहित आन्दोलनका कार्यक्रम पहिलदेखि नै हुँदै आएकाले मेडिकलको अवस्था धरासायी हुँदै गएको छ।
अस्पताल प्रशासनमा लगाईएको तालाबन्दी संगै सो कलेजमा चिकित्साशास्त्रमा अध्ययनरत झण्डै ३ सय विद्यार्थी अध्ययन अध्यापन समेत प्रभावित हुदै आएको छ।
जानकी मेडिकल कलेजद्वारा नै सञ्चालित जनकपुर स्थित ब्रह्मपुरीमा रहेको जानकी मेडिकल सिटी अस्पताल पनि कर्मचारीले तलब नपाएकै कारण कर्मचारीहरुले पटक–पटक तालाबन्दी गर्ने गरेका छन् ।