
सिमकोट– कोरोनाका बिरामीको उपचारका लागि नेकपा माओवादी केन्द्र हुम्लाले आफ्नो पार्टी कार्यालय भवनलाई आइसोलेशन वार्ड निर्माणका लागि उपलब्ध गराएको छ।
कोरोना संक्रमित बिरामी बढ्दा उपचारमा समस्या हुने देखिएको भन्दै सो पार्टीले कार्यालय भवन आइसोलेशन वार्ड स्थापना गर्न उपलब्ध गराएको हो।
जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले लिखित पत्र समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई हस्तान्तरण गरे।
कोरोना संक्रमण अवधिभर सो भवनका कोठाहरु स्वास्थ्य सेवा कार्यालयले कोभिडका बिरामीको उपचार गर्नका लागि प्रयोग हुने आइसोलेशन वार्ड निर्माण गर्न सकिने छ।
वर्तमान समस्यालाई ध्यान दिएर पार्टी कार्यालय भवन आइसोलेशन वार्ड निर्माण गर्न दिने निष्कर्षमा पुगेको इन्चार्ज भण्डारीले बताए।
उक्त भवनमा आइसोलेशन स्थापना भए पाँच वटा कोठा र तीन वटा शौचालन प्रयोगमा आउनेछन्। कोभिड १९ को दोस्रो लहर सुरु भएयता आफ्नो पार्टी कार्यालय आइसोलेशन वार्ड स्थापना गर्न दिएर जिल्लामा राजनीति दलबाट महत्वपूर्ण सहयोगको सुरुवात गरेको संयाजक आचार्यले बताए।
गतवर्ष नेपाली कांग्रेसले जिल्ला बाहिरबाट आएका नागरिकहरु लागि क्यारेन्टिन स्थापना गर्न आफ्नो पार्टी कार्यालय भवन उपलब्ध गराएको थियो।