
सिमकोट– हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को हिमालपारी लिमीका तीन वटै गाउँमा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको छ। हालसम्म कोरोना संक्रमणबाट सुरक्षित उक्त गाउँमा संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको हो।
हुम्ला जिल्लामा निषेधाज्ञा जारी भएको १७ दिनपछि हिमालपारीको गाउँ लिमीले कोरोना संक्रमणको त्रास बढेको भन्दै लिमीका तीन वटै गाउँमा बाहिरका मानिसलाई प्रवेश निषेध गरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। हालसम्म कोरोना संक्रमणका हिसाबले ग्रीनजोन उक्त गाउँमा बाहिरका मानिस प्रवेशमा रोक लगाइएको उनले बताए।
लिमीका गाउँका मानिस कतै नजाने र बाहिरका मानिस मात्र गाउँमा भित्रिएपछि कोरोनाको डर हुने हुँदा बेलैमा अन्य मानिस प्रवेशमा रोक लगाएपछि कोरोनाबाट सुरक्षित रहन सहज हुने निष्कर्ष तीन गाउँले निकालेका हुन्।
लिमी प्रवेशका लागि चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा हाल हिउ जमेको कारण आवतजावत बन्द रहेको अवस्था छ। तर पनि जेठ महिना लागेको कारण कोही मानिस लिमी प्रवेश गर्ने संभावना पनि रहेको कारण पूर्व जानकारी गरिएको वडा अध्यक्ष लामाले बताए।
गाउँकै मानिसलाई पनि बाहिरबाट गाउँ प्रवेशमा रोक लगाइएको छ। यति गर्न सके लिमीका तीन वटै गाउँलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सकिने उनले बताए। गाउँमा रहेकाहरु पनि बाहिर जान पाउने छैनन्।