
सिमकोट – गाउँपालिकास्तरमा परीक्षणको दायरा बढेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको छ।
ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संक्रमितको संख्या बढ्दै गएको हो।
लामो समय ग्रिन जोनका रूपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तीमा पनि कोरोना संक्रमण बढ्दै गएको छ।
परीक्षण गर्नेबित्तिकै कोरोना देखिहाल्ने अवस्था रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।
पछिल्लो परीक्षणसँगै जिल्लामा संक्रमितको संख्या ९६ पुगेको छ।
पछिल्लो परीक्षणअनुसार चंखेली गाउँपाकिलामा चार जना नयाँ संक्रमित थपिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरप्रसाद चौलागाईंले जानकारी दिए।
कार्यालय प्रमुख सिंहका अनुसार कुल संक्रमितमध्ये सिमकोट गाउँपालिकामा संक्रमितको संख्या २१, सर्केगार्ड गाउँपालिकामा १४, चंखेली गाउँपालिकामा २५, अदानचुली गाउँपालिकामा ७ र ताँजाकोट गाउँपालिकामा २९ जनामा पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म सिमकोटको आइसोलेसनबाट ११ जना निको भएर घर फिर्ता भइसकेका छन्।
एक जना श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।
अब जिल्लाका ५ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७३ जना रहँदै आएका छन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। कोरोनाको दोस्रो स्वरुप नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा पहिलो पटक वैशाख १९ गते पुष्टि भएको थियो।
त्यसयता दैनिक स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढिरहेको कार्यालय प्रमुख सिंहले जानकारी दिए।
यसैबीच, सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा बुधबार गरिएको एन्टिजिन किटबाट परीक्षणमा १५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।