
सिमकोट– कोरोना संक्रमणले निषेधाज्ञा जारी रहेका बेला हुम्लाको सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
जेठ ७ गते राति प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै तरुण दलले पुत्ला दहन कार्यक्रम आयोजना गरेको हो।
जनता कोरोना कहरको मारमा परेर दैनिक गुजारा चलाउन कठिन भएका बेला राष्ट्रपतिद्वारा चालिएको अलोकतान्त्रिक र असंवैधानिक कदम विरुद्धको पुत्ला दहन कार्यक्रम आयोजना गरिएको तरुण दलका सदस्य रविनकुमार बस्नेतले बताए।
जिल्ला प्रशासन कार्यालयबाट निस्केको नारासहितको जुलुसले लोकतन्त्र चोक हुँदै एयरपोर्ट चोकमा गएर राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम गरिएको थियो।
जुलुसले राष्ट्रपति तथा प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्ध चर्का नारा लगाएको थियो। पुत्ला दहन कार्यक्रमको समापन गर्दै तरुण दल सर्केगार्ड गाउँपालिकाका अध्यक्ष धनराज शाहीले प्रतिगमन नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका थिए।
दलका नेताहरूले आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएका छन् । उक्त कदमविरुद्ध जेठ ९ गते नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेको थियो भने बेलुका नेविसंघले राँके जुलुस कार्यक्रम आयोजना गरेको थियो।