
सिमकोट – सातमध्ये ६ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमणमा १५ जना फेरि थपिएका छन्।
कोरोना संक्रमण परीक्षण गर्ने क्रममा हालसम्म ५ वटा गाउँपालिकामा देखिएको हो। पछिल्लो पटक पाँच वटा गाउँपालिकामा एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा संक्रमित संख्या थपिएको हो।
वैशाख १९ गतेयता एउटा सिमकोट गाउँपालिकाबाट हुम्ला जिल्लामा कोरोना संक्रमणको दोस्रो रुप देखिन सुरु भएयता यो संक्रमण ६ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमितको संख्या जिल्लामा १२४ जना पुगेको छ।
कुल संक्रमितमध्ये ४७ जना महिला र ७७ जना पुरुष रहेको अस्पतालका सम्पर्क व्यक्ति भक्ति फडेराले बताए। हालसम्म कुल संक्रमितमध्ये सिमकोट गाउँपालिकामा संक्रमितको संख्या २४ जना पुगेको छ भने खार्पुनाथमा ११ जना, सर्केगार्ड गाउँपालिकामा १९ जना, चंखेली गाउँपालिकामा २५ जना, अदानचुली गाउँपालिकामा १५ जना र ताँजाकोट गाउँपालिकामा २९ जनामा पुष्टि भएको छ। अस्पतालका बिरामी मध्य एक जना श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।
उनको स्वास्थ्य अवस्था पनि निकै सुधार भएको जनाइएको छ। अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ८४ जना रहँदै आएका छन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। सिमकोट १८ जना र ताँजाकोटमा ११ जना र सर्केगार्ड १० जना गरी जम्मा ३९ जनाले हालसम्म कोरोना जितेर घर फर्किसकेका छन्।
कोरोनाको दोस्रोस्वरूप नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा पहिलो पटक वैशाख १९ गते पुष्टि भएको थियो।
त्यसयता दैनिक रूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढिरहेको जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीव्र रूपमा वृद्धि भएको छ। अब उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका मात्र कोरोना संक्रमणबाट अछुतो रहेको छ।
दुई पटक उक्त गाउँपालिकामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। जिल्लाभरि हालसम्म एन्टिजिन किटबाट हालसम्म ८३८ जनालाई परीक्षण गरिएको थियो।