
सिमकोट– नेकपा एमाले हुम्लाका अध्यक्ष दल रावलले पार्टी सचिव तिर्थराज रोकायालाई कारवाही गर्ने चेतावनी दिएका छन्।
संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भन्दै जिल्लामा अन्य पाँच दलसँगै पार्टी सचिव रोकायाले पनि हस्ताक्षर गरेपछि अध्यक्ष रावलले कारबाहीको चेतावनी दिएका हुन्।
पार्टीको जिम्मेवार पदमा रहेर राष्ट्रपतिले चालेको कदमको विपक्षी दलसँग मिलेर विरोध गर्नु आपत्तिजनक भएको भन्दै अध्यक्ष रावलले विज्ञप्ति जारी गरेर कारबाहीको चेतावनी दिएका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै हुम्लाका पाँच राजनीतिक दलले जेठ ९ गते विज्ञप्ति जारी गरेका थिए। जसमा एमाले जिल्ला सचिव रोकायाले पनि हस्ताक्षर गरेका थिए। रोकाय नेपाल–खनाल पक्षका हुन्।