
सिमकोट– कोरोना संक्रमणका बिरामी प्रतिदिन बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा औषधि पाउनै छोडेको छ।
कोरोनाका बिरामी संख्या दैनिक बढिरहेको र अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआइपुगेपछि औषधि अभाव भएको हो।
सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको बताए।
कोरोना संक्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर काम चलाएको उनले बताए।
त्यसो त सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ।
उनले सिटामोल पनि नपाइएको बताए। चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बाहिर किन्नुपर्ने अवस्था रहेको उनले बताए।
कोरोना पुष्टि भएपछि चिकित्सकले औषधिको सिफारिस गरेको तर नपाएर बाहिर महँँगोमा किन्नुपरेको उनले बताए। कोरोनाविरुद्ध प्रयोग हुने सबै औषधि सकिएको अस्पतालकी एक जना स्वास्थ्यकर्मीले बताइन्।
बेलैमा औषधिको व्यवस्था हुन नसके भोलि बिरामीले औषधि नपाएर ज्यान गुमाउनुपर्ने कुरा भन्न सकिने अवस्था छैन। पैसा हुनेले त निजी फार्मेसीमा किन्न सक्लान् तर न्यून आयश्रोत भएको ब्यक्तिले औषधि नपाउने अवस्था सिर्जना हुने देखिएको छ।
पुरानो औषधि सकिएको र नयाँ खरिद प्रक्रियामा रहेकाले अस्पतालमा औषधि अभाव देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए।
आठ लाखको औषधि खरिदका लागि सप्लायर्स पनि छनोट भएर सम्झौता भइसकेकाले अब चाँडै औषधि जिल्लामा आइपुग्ने उनले बताए।