
सिमकोट– हुम्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी निषेधाज्ञाका कारण भारी बोकेर जीविका चलाउँदै आएकाहरु महिलाहरु कामविहीन बनेका छन्।
जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि वैशाख २१ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाका कारण हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न लगायतका सामाग्री विमानस्थलबाट ढुवानी गर्न नपाएपछि भारी बोक्दै आएका महिलाहरु बेरोजगार बनेका हुन्।
विगत १३ वर्षदेखि सिमकोट विमानस्थलमा भारी बोक्ने काम गर्दै आएकी बाँच सुनारले कोरोनाका कारण दुई हप्तादेखि बेरोजगार बनेको बताइन्।
निषेधाज्ञापछि घर बाहिर निस्कन नपाइने भएका कारण नेपालगंज र सुर्खेतदेखि हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्न लगायत कार्गोको सामाग्री बोक्न नपाएपछि बेरोजगार भएर बस्नुपरेको उनको भनाइ छ।
विमानस्थलमै भारी बोकेर चार जनाको परिवार पाल्दै आएकी सुनारले कोरोनाको कारण बेरोजगार बन्नु परेको दुखेसो पोखिन्। भारी बोक्न नपाएपछि बिहान बेलुकाको छाक टार्न पनि समस्या हुन थालेको उनले बताइन्।
विमानस्थलमै भारी बोक्ने काम गर्दै आएकी अर्की महिला लामु शेर्पाले भारी बोक्ने काम नपाएपछि कमाई हुन छोडेको बताइन्।
गतवर्ष कोरोना कोरोना संक्रमणका बेला भारी बोक्न बन्द भएपनि पछि महिला भरियाको अनुरोधमा काम गर्न दिएको बताउँदै आफूहरु सामाजिक दूरी कायम गर्न तयार भएकोले भारी बोक्ने व्यवस्था गर्न स्थानीय प्रशासनलाई उनले आग्रह गरिन्। आफू जस्तै एक सय जना महिला कोरोनाको कारण निषेधाज्ञा जारी भएपछि बेरोजगार बन्नुपरेको उनको भनाइ छ।
भरियालाई भारी बोक्न दिँदा भीडभाड बढ्ने भन्दै स्थानीय प्रशासनले विमानस्थलको खाद्यान्न लगायतका सामाग्री ट्र्याक्टरबाट ढुवानी गर्ने गरिएको छ।