
दाङ-लालमणि चौधरीले ब्यवसायको रुपमा मकै खेती गर्दै आएका छन्। एक विगाह क्षेत्रफलमा तीन वर्ष देखि पावर ट्रिलर(च्याङ्गफा) ट्रेक्टरले जोतेर मकै खेति गर्दै आएका हुन्। तर,उनले प्रयोग गर्ने कृषियन्त्र पावर ट्रिलरमा सामान्य खरावि आउदा समेत मिस्त्रीलाई बोलाउने गर्छन्। ‘नट बोल्ड ढिला भयो भने पनि अरुको मुख ताक्नुपर्ने हुन्थ्यो।
मोवोलि फेर्ने, ग्रिसिङ्ग गर्दा समेत बजारबाट मिस्त्रिलाई बोलाउदा खर्च पनि धेरै हुन्थ्यो’उनले भने–‘तर,अब आफै कृषि यन्त्र मर्मत गर्न सक्षम भएको छु। मिस्त्रि बोलाउनु पर्दैन्।’ लमही नगरपालिका वडा नं-२ सोनपुर निवासी लालमणिले कृषि यन्त्र मर्मत सम्वन्धि तालिम लिएपछि यन्त्रको मर्मत गर्न सक्षम भएका हुन्।
यस्तै राप्ती गाउँपालिका वडा नं-१ पाखापानि निवासी टेकराज आचार्यले नयाँ भित्रिएका कृषि यन्त्रको प्रयोग र मर्मत गर्न नजान्दा धेरै दुःख भोग्नु परेको अनुभव सुनाए।‘बाउ, बाजेले नदेखेको कृषि औजार हामिले प्रयोग गर्न पाउदा भाग्यमानि रहेछौं भन्ने ठानेको छु। यी नयाँ यन्त्रहरुको मर्मतबारे ज्ञान नहुदा टाढा बाट मिस्त्रिहरुलाई बोलाउनु पर्ने समस्या थियो।तर, अब त्यो समस्या हटेको छ’ उनले भने–‘सर्विसिङ्ग सम्म गर्न सक्ने भएको छु।’
दाङको देउखुरीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (मकै–सुपरजोन) लागू भएपछि मकै खेती पूर्णयान्त्रीकरण बन्दै गएको हो। मकै खेतिमा आवद्ध किसानहरुलाई कृषि यन्त्रको मर्मत बारेमा जानकारी गराइएको छ।
सहकारी तथा कृषि समुह मार्फत किसानहरु मकैको ब्यवसायिक खेतिमा आवद्ध भएका छन्। तर, किसानहरु यान्त्रिकरणमा गएपनि उनिहरुमा प्राविधिक ज्ञानको कमि छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत किसानहरुको क्षमता अभिवृद्धि गर्न कृषि यन्त्रको मर्मत बारे तालिम प्रदान गरिएको कृषि अधिकृत विताम्वर बस्नेतले जानकारी दिए।
‘मकै खेति यान्त्रिकरणमा गएको छ। किसानहरुले कृषि यन्त्रको प्रयोग गरेर मकै खेती गर्न थालेका छन्। तर, उहाँहरुमा ति कृषि यन्त्रको प्रयोगबारेमा क्षमता बढाउन तालिम दिएका छौं’बस्नेतले भने–‘८ समुहका किसानहरुले कृषि यन्त्रको मर्मतको तालिम लिएका छन्।’
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले मकै खेति गर्दै आएकाहरुलाई पूर्ण यान्त्रिकरण बनाएको परियोजना कार्यान्वयन ईकाइका प्रमुख महेश रेग्मीले जानकारी दिए।‘जमिन बनाउने देखि लिएर मकै छर्ने, ड्याङ्ग लगाउने, मकै गोडमेल गर्ने, ओकेरा लगाउने काम सवै मेसीनबाट हुन्छ।
मकै खोसल्ने, मकै छोडाउने सम्म मेसिन छ’उनले भने–‘यान्त्रिकरणमा जाँदा यन्त्रको मर्मतबारे किसानलाईनै सक्षम बनाउने र दिर्घकालिन रुपमा सिप हस्तान्तरण हुने भएकाले मर्मत सम्बन्धि सीप दिइएको हो।’