
सिमकोट – हुम्लाकाे नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा जारी रहेको निषेधाज्ञा केही खुकुलो पारिएको छ।
आर्थिक वर्ष सम्पन्न हुने समय आएपछि योजनाको अनुगमन गर्नुपर्ने र भुक्तानीका लागि स्थानीय उपभोक्ता गाउँपालिका केन्द्र र सदुरमकाम सिमकोट आउनु पर्ने भएपछि निषेधाज्ञालाई खुकुलो पारिएको बताइएकाे छ।
एक दर्जन भन्दा बढी योजनाहरु निर्माण रहेको र त्यसको मुल्याङ्कन तथा अनुगमन गर्न प्राविधिक लिमीमा जानु पर्ने र उपभोक्ताहरु भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आउनु पर्ने भएको कारण हाल जारी रहेको निषेधाज्ञालाई केही खुकुलो पारिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
यी कामका लागि बाहेक अन्य व्यक्तिहरुलाई लिमी प्रवेशमा भने रोक लगाउने कार्य जारी रहेको उनले बताए। त्यसै गरि लिमीका स्थानीय बासिन्दालाई पनि अन्य कामले लिमी बाहिर जाने अनुमति छैन।
लिमीमा गाउँपालिकाको समन्वयमा जेठ ३ गतेबाट वडा कार्यालयको बैठकद्वारा निषेधाज्ञा जारी गरिएको थियो। चार हजार मिटर उचाईमा रहेको लिमी भ्यालीमा प्रवेशका लागि चार हजार छ सय मिटर अग्ला नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गर्नुपर्छ।