
धनगढी- धनगढीलाई क्रिकेटको शहरको उपमा दिन सफल अर्थात क्रिकेट अभियान्ता सुवाश शाहीले करिव ८ वर्षअघि ५ हजार रुपैयाँ पुरस्कारबाट सुरू गरेको ‘एसपीए कप क्रिकेट’ अहिले ५० लाख रुपैयाँ पुरस्कारको धनगढी प्रिमियर लिग (डीपीएल २) सम्म आइपुगेको छ।
सन् २०१० मा कलेज लेभलको ‘एसपीए कप’ सुरु गर्दा चुनौतीका चाङ थिए सुवास सामु। ५÷१० हजार रुपैया दिने प्रायोजक भेट्टाउनै मुस्किल पर्थ्यो।
त्यसबेला काठमाडौं र नेपालगञ्जका दुई समेत गरी १२ वटा कलेजका टिम थिए।यो बेला पहिलो हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १० हजार पुरस्कार थियो।
‘त्यो समय गतिलो थिएन क्रिकेटको माहोल’ एसपीए कलेजका निर्देशक समेत रहेका सुवास सुरुवातका दिन सम्झन्छन, ‘टिम, खेलाडी प्रायोजक खोज्न नै मुख्य समस्या हुन्थ्यो। ठूला सोच बनाएर लागिरह्यौ । त्यही प्रतियोगिताको प्रत्येक संस्करणमा केही ठूलो र नयाँ गर्ने चाहना राख्यौं । त्यसैले अहिले ‘डीपीएल’सम्म आइपुगिएको हो।’
लिगको दोस्रो सिजनमा सुवाशले नेपालमै पहिलोपटक अक्सनबाट खेलाडी लिने अभ्यास सुरु गरे जुन व्यवसायिक क्रिकेटको लागि एउटा सुरुवात थियो ।
त्यसबेला हसनपुर, टिम चौराह, क्याम्पस रोड, सन्तोषी टोल र अत्तरीया गरेर टोलको नामबाट पहिलो पटक अक्सन भएको थियो।
ठूलो प्रतियोगिताको सुरुवात गर्ने उद्देश्यले नै उनले धनगढी क्रिकेट लिग र एसपिए कपलाई मर्ज गरेर धनगढी प्रिमियर लिग सुरु गरे । जसले अहिले क्रिकेट जगतमा चर्चा मात्रै पाईरहेको छैन, नेपाली क्रिकेटलाई व्यवसायिकतामा लग्न सफल भएको छ ।
डीपीएल-३ को तयारी
८ वर्षदेखि धनगढीमा क्रिकेट प्रतियोगिता गर्दै आएका, धनगढीलाई क्रिकेटको शहरको उपमा दिन सफल अर्थात क्रिकेट अभियान्ता शाही एसपीए कप हुदै डिपिएल २ लाई सफलता पूर्वक सम्पन्न गर्दै डीपीएल–३ को तयारीमा जुटिसकेका छन्।
उनले आयोजना गर्ने प्रत्येक सस्करणमा दर्शकलले नौलो स्वाद पाउने गरेका छन्।नेपालमै पहिलो पटक अक्सनको सुरुवातदेखि सिटिवेस क्रिकेटको सुरुवात उनले गरे। धनगढी प्रिमियर लिग (डीपीएल २) मा त डिपिएलले अन्तराष्ट्रिय मान्यता नै पायो।
रुस्लान डिपिएल २ ले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसिसिबाट मान्यता पाउनुलाई सुवाश नेपाली क्रिकेट र धनगढी वासिका लागि अभूतपूर्ण ऐतिहासि घटना ठान्छन्।
गत चैत्र २० गते (डीपीएल २) सकिएसगै क्रिकेटप्रेमीहरुले (डीपीएल ३) मा नया उपहार के हुन्छ भनेर सोध्न थालिसकेका छन ।
यस्तो छ सुवासको योजना
धनगढी प्रिमियर लिग २ को समिक्षा गर्न मगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा आगमी दिनमा थप प्रविधिको प्रयोगमा जोड दिनुका साथै डिपिएल होम एण्ड अवे र डे नाईट खेलिने तर्फ हाम्रो प्रयास जारी रहने जनाईएको छ।
लगत्तै पत्रकारले सोधे, ‘सम्भव छ र ?’ सुवास मुस्कुराए र भने ‘एसपीए कपदेखि आजसम्म प्रतियोगितामा नया-नयाँ प्रयोग गरिरहेका छौँ। अहिलेसम्म जति जे प्रयार गर्यौ सवैमा सफलता मिलेको छ। यसमा असम्भव के छ र ?’ प्रतिप्रश्न गरे।
‘ठूलो सोच राख्दा ठूलो सफलता मिल्छ। सोच नै राखिएन भने त कसरी अगाडि बढिन्छ र ?’ सुवास भन्छन्।डिपिएल होम एण्ड अवे र डे नाईट खेलाउनु अव सुवासको सोच मात्रै रहेन, उदेश्य नै भईसकेको छ।
‘डिपिएलको दोस्रो संस्करण झै डीपीएलले आगामी संस्करणमा पनि दर्शकहरुको यस्तै न्यानो माया पाउने अपेक्षा गरेका छौ । आगामी दिनमा थप प्रविधिहरुको प्रयोगमा जोड दिनुका साथै डीपीएल होम एण्ड अवे र डे नाईट खेलिने तर्फ हाम्रो प्रयास रहने जानकारी गराउदछौ ।’ सुवाशले भने।
उनी तयारीमा डिपिएल ३ को मात्रै तयारीमा लागेका छैनन, त्यसलाई ‘होम एण्ड अवे’ र डे नाईट गराएर खेलाउन लागि परेका छन्। तर, उनी त्यसका लागि पूर्वाधारको अभाव देख्छन उनी।
डिपिएल होम एण्ड अवेमा खेलाउनका लागि मुख्य चुनौतिबारे सुवाश भन्छन्: हामीसग प्रत्येक शहरमा खेल खेलाउनका लागि मैदान छैनन, मैदान बनाउन जरुरी छ।’
यो हुन सक्यो भने क्रिकेट विकासमा निकै फाइदा पुग्ने विश्वास उनको छ। यसले दर्शक पनि बढाउने र व्यवसायिक रुप पनि बढ्नेमा विश्वस्त छन सुवाश।
‘हामीले डिपिएल ३ लाई होम एण्ड अवेमा र डे नाईट खेलाउन सक्यौ भने नेपाली क्रिकेटले थप उचाई त दिन्छन नै।’ उनले थपे, ‘देशव्यापी रुपमा क्रिकेटको माहौल बन्छ। प्रायोजक थपिन्छन्।’