
सिमकोट – आर्थिक अभावले उपचारमा समस्या भोगिरहेका बाल युद्ध शाहीको सहयोगका लागि डेढ लाख रुपैयाँ सहयोग जुटेको छ।
घटना सार्वजनिक भएपछि उपचारका लागि सार्वजनिक अपिल गर्दा सहयोठ उठ्न सुरु भएको हो।
बालकका लागि सहयोग व्यक्तिगत र संस्थागत रूपमा उठेको छ।
यसका लागि प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीबाट विशेष पहल भएको थियो।
यसका लागि सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले गाउँपालिकाबाट २० हजार सहयोग गरेका छन् भने प्रमुख जिल्ला अधिकारी आचार्यले १५ हजार सहयोग गरेका छन्।
त्यसैगरी, उद्योग वाणिज्य संघबाट १५ हजार, स्वास्थ्य सेवा कार्यालयबाट १५ हजार, अस्पतालका चिकित्सक टासी आङ्जु लामाको नेतृत्वमा चिकित्सकका तर्फबाटबाट २४ हजार, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराको नेतृत्वमा नर्सिङ, फार्मेसी र प्यारा मेडिक्सका स्वास्थ्यकर्मीबाट २४ हजार आठ सय, रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य छेपाल दोर्जेबाट १० हजार, रेडियो कर्णाली आवाजबाट पाँच हजार, सामाजिक विकास कार्यालयका कर्मचारीवाट पाँच हजार, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतबाट पाँच हजारलगायत अन्य विभिन्न व्यक्तिबाट २९ हजार नगद जुटेको छ।
यता सीता एयरले बिरामी बालक र उनको हेरचाहका लागि गएकी दिदीको सिमकोटबाट सुर्खेतसम्मको एकतर्फी हवाई भाडा निःशुल्क गरिएको छ।
त्यसैगरी, डा. लामा र प्रमुख जिल्ला अधिकारी आचार्यको समन्वयमा प्रदेश अस्पताल सुर्खेतले बालकको उपचार निःशुल्क गर्ने भएको छ।
शनिबार दिउँसो माथिबाट खसेको माटोको ढिस्कोले पुरेर दुबै खुट्टा भाँचिएका १२ वर्षे बालक युद्ध शाहीको सहयोगका लागि पौने दुई लाख आर्थिक सहयोग उठेको हो।