सेवा सुविधा माग गर्दै अन्नपूर्णका पीडित पत्रकार सूचना विभागमा

सेवा सुविधा माग गर्दै अन्नपूर्णका पीडित पत्रकार सूचना विभागमा
+
-

काठमाडौं – अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाको प्रकाशन बन्द गर्ने भनी सम्पूर्ण श्रमजीवी पत्रकारहरुको राजीनामा मागेको अन्नपूर्ण मिडियाले अवकाशपछि दिनुपर्ने सेवा सुविधा नदिएपछि सातजना पीडित पत्रकार सूचना विभाग पुगेका छन् ।

विभागमा दर्ता गरेको निवेदन अनुसार उनीहरु अवकाशपछिको सेवासुविधाको ग्यारेन्टीका लागि सूचना तथा प्रसारण विभागमा उजुरी दिन पुगेका हुन्।

निवेदकका अनुसार अन्नपूर्णले २०७६ साल चैतदेखि श्रमजीवीको तलबभत्ता भुक्तानी दिएको छैन । जोखिमपूर्ण अवस्थामा घरपरिवार र आफ्नो स्वास्थ्यको पनि प्रवाह नगरी सेवामा खटिँदै आएका हामी श्रमजीवी पत्रकारहरुलाई कम्पनीले लकडाउन हुनु अघिदेखि नै हाम्रो तलबभत्ता भुक्तानीमा कटौती गर्न थालेको थियो । २०७६ साल चैत महिनादेखिको तलबभत्ता भुक्तानी हुन अझै बाँकी छ।

भुक्तानी हुन बाँकी तलबभत्ताको भुक्तानी, अवकाशपछि प्राप्त गर्नुपर्ने सेवा सुविधा अन्तर्गत क्षतिपूर्ति, सञ्चयकोष, उपदान, सञ्चित बिरामी विदा र घरविदाको रकम, उपचार खर्च, सम्पूर्ण रकम भुक्तानी नहुँदाको दिनसम्मको तलबभत्ता भुक्तानीको माग गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘भुक्तानी हुन बाँकी तलबभत्ता भुक्तानी, क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च ९प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर०, विदाको रकम, भुक्तानी हुन बाँकी चाडपर्व भत्ता, हाम्रो तलबमानबाट कट्टा गरिएको टी।डी।एस। को राजस्व दाखिला, प्रेस पास नवीकरण र सम्पूर्ण रकम भुक्तान हुन आउने दिनसम्मको खाइपाइ आएको तलबभत्ता सुविधाको साथै यस महामारीको समयमा कम्पनीको कारणले हामी श्रमजीवी पत्रकारहरुलाई पर्न गएको मानसिक, शारीरिक क्षतिको क्षतिपूर्ति समेत माग गरी निवेदनसाथ उपस्थित भएका छौं ।’

अन्नपूर्ण मिडियाले श्रमजीवीबाट कट्टा गरी राखेको टीडीएस पनि आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरेको निवेदनमा जनाइएको छ । कम्पनीले यस महामारीको समयमा श्रमजीवी पत्रकारहरुलाई शारीरिक र मानसिक यातना दिएको पीडित पत्रकारहरुले गुनासो गर्दै आएका छन् । ती पत्रकारहरुले त्यसको पनि क्षतिपूर्ति दाबी गरेका छन् ।

यसअघि उनीहरुले अवकाशपछिको सेवा सुविधा र बाँकी तलबभत्ताको माग गर्दै अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, कम्पनीका चेयरमेन क्याप्टेन रामेश्वर थापा र अन्नपूर्ण मिडिया नेटवर्क मानव संशाधन विभागका प्रमुख शिवराज बस्नेतलाई संवोधन गरी विभिन्न निकायमा बोधार्थ दिइ सेवासुविधा भुक्तानीको पहल गरिदिन आग्रह गर्दै पत्राचार गरेका थिए । त्यसबाट कुनै निकास ननिस्किएपछि उनीहरु निवेदन लिएर नेपाल पत्रकार महासंघ पुगेको एक पीडित फोटो पत्रकार उमा बिष्ट बताउँछिन् । नेपाल पत्रकार महासंघले अवकाशपछिको सेवा सुविधा उपलब्ध गराउनु भन्दै १५ दिनको म्याद दिएर जेठ १५ गते अन्नपूर्ण प्रतिष्ठानलाई पत्र लेखेको थियो ।

कानून अनुसार पाउनुपर्ने सेवा सुविधामा कुनै पनि सम्झौता नहुनेमा पीडित पत्रकारहरु एकमत छन् । दुवै पक्षलाई छलफलमा डाकी विवादको समाधान गरिने विभागका महानिर्देशक गोगन बहादुर हमालको भनाइ रहेको निवेदकमध्येका कृष्णप्रसाद मरासिनीले बताए ।

२०७७ साल चैत ३ गते दबाबपूर्ण अवकाश स्वरुप २८ जना श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका थिए । यसरी दिएको राजीनामालाई कम्पनीले २०७८ वैशाख २ गते स्वीकृत गरेको थियो । २८ जना श्रमजीवी पत्रकारहरुमध्ये २१ जनाले कम्पनीले दिएको हरहिसाबमा चित्त बुझाइ रकम बुझिसकेको अन्नपूर्ण प्रतिष्ठानले जनाएको छ ।

यस्तो छ पत्र–

मितिः २०७८–०२–३१

 

श्री महानिर्देशकज्यू,
सूचना तथा प्रसारण विभाग,
सञ्चारग्राम, सिनामंगल, काठमाडौं ।

विषय ः बाँकी तलबभत्ता भुक्तानी, अवकाशपछिको सेवा सुविधा र सम्पूर्ण सेवा सुविधाको रकम भुक्तानी नहुँदाको मितिसम्मको मासिक तलबभत्ता भुक्तानी दिलाइदिने सम्बन्धमा । 

 

१.    उपर्युक्त सम्बन्धमा नेपाल सरकारले मिति २०७६–१२–११ देखि कोरोना (कोभिड–१९) महामारीका कारण सबै क्षेत्र ठप्प गरी लकडाउन गर्ने निर्णय गरिसकेपछि हामी सबै श्रमजीवी पत्रकारहरु मध्यरातसम्म बसेर घरबाटै निकै कष्टपूर्ण रुपमा काममा खटिँदै आएका थियौं । जोखिमपूर्ण अवस्थामा घरपरिवार र आफ्नो स्वास्थ्यको पनि प्रवाह नगरी सेवामा खटिँदै आएका हामी श्रमजीवी पत्रकारहरुलाई कम्पनीले लकडाउन हुनु अघिदेखि नै हाम्रो तलबभत्ता भुक्तानीमा कटौती गर्न थालेको थियो ।

 

अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाका सम्पादकमार्फत पटकपटक तलबभत्ता भुक्तानीको लागि पहल गरिदिन आग्रह गरे पनि २०७६ साल चैत महिनादेखिको तलबभत्ता भुक्तानी हुन अझै बाँकी छ । त्यसयता हामीले सामूहिक र व्यक्तिगत रुपमा पनि अन्नपूर्ण पोस्ट् दैनिकका सम्पादक, नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रा.लि.का सीईओ तथा सम्बन्धित विभागका विभागीय प्रमुखहरुसँग आफ्ना गुनासाहरु राखी तलबभत्ता भुक्तानीको पहल गरिदिन पटकपटक आग्रह गर्दै आएका थियौं ।

 

अनौपचारिक छलफलका क्रममा हामीलाई परिस्थिति सहज भएपछि भुक्तानी हुन बाँकी तलबभत्ता दिइने र सेवासुविधा पनि नवीकरण गर्ने आश्वासन दिइएको थियो । निकै कष्टपूर्ण रुपमा जीवनयापन गर्दै आएका हामी श्रमजीवी पत्रकारहरु कठिन अवस्थामा पनि उक्त आश्वासनलाई यथार्थ मानी आफ्नो काममा खटि नै रहयौ । 

    समयक्रमसँगै परिस्थितिलाई सहजीकरण गर्नुको साटो पुरानो तलबभत्ता भुक्तानीको माग गर्ने साथीहरुलाई राजीनामा दिएर बाहिरिन दबाब दिन थालियो । दबाबलाई थेग्न नसकी कतिपय साथीहरु लकडाउनकै बीचमा राजीनामा दिएर बाहिरिनुभयो । 

 

 राजीनामा स्वीकृत गरिसकेपछि पनि कम्पनीले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१, श्रमजीवी पत्रकारसम्बन्धी नियमावली, २०५३ र श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को आधारमा भुक्तानी हुन बाँकी तलबभत्ता, न्यूनतम पारिश्रमिक, क्षतिपूर्ति, सञ्चयकोष सुविधा, सञ्चित विदाको रकम, उपदान, उपचार खर्च र अन्य भुक्तानी हुन बाँकी सेवा सुविधाको हिसाब गरी भुक्तानी गर्नुको साटो व्यक्तिगत सौदाबाजी गरी पाउनुपर्ने रकम पनि दिन अस्वीकार गरेको छ ।

    परिस्थिति केही सहज भएर कार्यालयमा उपस्थित भई काम गर्न थालेपछि हामीले सम्पादकसँग प्रत्यक्ष भेटी भुक्तानी हुन बाँकी तलबभत्ता भुक्तानीको व्यवस्था गरिदिन पटकपटक आग्रह गर्यौं । पत्र लेखेरै दियौं । तर, उहाँले केही दिनमा कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सामूहिक सम्बोधन गरी त्यसको समाधान गर्ने कुरा भएको छ धैर्य गरिदिनुस् भनी आग्रह गरेपछि हामी विश्वासमा पर्यौं । कम्पनीले हाम्रो भुक्तानी हुन बाँकी तलबभत्ताको व्यवस्था मिलाउँदै होला भन्ने लागेर हामीले आफ्नो सेवालाई निरन्तरता दियौं । तर, हामीलाई अँध्यारोमा राखेर कम्पनीभित्र विभिन्न षडयन्त्र भइरहेको चाल नै पाउन सकेनौं ।

 

त्यसैको निरन्तरतास्वरुप मिति २०७७–११–२० का दिन बेलुका ६ बजे सम्पादक अखण्ड भण्डारीले आफ्नो कार्यकक्षमा बोलाई अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाको प्रकाशन बन्द गरी डिजिटाइजमा जाने निर्णय भएको र सबै जनाले राजीनामा दिनुपर्ने भनी माथिको निर्देशन आएको सूचना हामीलाई दिनुभएको थियो । त्यो सुन्दा हामी श्रमजीवी पत्रकारहरु छाँगाबाट खसेजस्तो भयौ । तै पनि हामी सह्मालियौं ।

 

पुनः मिति २०७७–११–२५ गते बेलुका अपराह्न्न ४ः३० मा पत्रिकाका सम्पादक अखण्ड भण्डारी, अन्नपूर्ण पोस्ट् डट कमका सम्पादक विष्णु सुवेदी र कम्पनीका सी.ई.ओ. मानस घिमिरेले अन्नपूर्ण टावरको सातौ तलामा डाकी केही समयपछि पत्रिकाको प्रकाशन बन्द गरिने निर्णय भएको सुनाई हामी श्रमजीवीहरुलाई राजीनामा दिन लगाइयो ।

 

पत्रिकाको प्रकाशन बन्द गर्ने औपचारिक सूचना निकाल्नुस् भनी अनुरोध गर्दा बजारमा पैसा धेरै फसेको छ औपचारिक सूचना निकाल्दा पैसा नउठ्ने डर हुन्छ त्यसैले यसै सूचनालाई आधार मानी राजीनामा दिएर बाहिरिनुस् भन्ने दबाबपूर्ण आग्रह गरियो । पटकपटकको दबाबले गर्दा कार्यालयमा उपस्थित भई कार्य गर्ने वातावरण नभएकाले हामीहरुले दबाबपूर्ण अवकाश स्वरुप मिति २०७७ चैत्र ३ गते सामूहिक राजीनामापत्र बुझाउन बाध्य भयौं । कम्पनीले सोही पत्रलाई आधार मानी मिति २०७८ वैशाख २ गते हाम्रो राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । 

२.    राजीनामा स्वीकृत गरिसकेपछि पनि कम्पनीले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१, श्रमजीवी पत्रकारसम्बन्धी नियमावली, २०५३ र श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को आधारमा भुक्तानी हुन बाँकी तलबभत्ता, न्यूनतम पारिश्रमिक, क्षतिपूर्ति, सञ्चयकोष सुविधा, सञ्चित विदाको रकम, उपदान, उपचार खर्च र अन्य भुक्तानी हुन बाँकी सेवा सुविधाको हिसाब गरी भुक्तानी गर्नुको साटो व्यक्तिगत सौदाबाजी गरी पाउनुपर्ने रकम पनि दिन अस्वीकार गरेको छ ।

 

यस बीचमा हामीले विभिन्न निकायलाई बोधार्थ दिएर पत्रिकाका सम्पादक, कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, मानव संशाधन विभागका प्रमुख, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय समेतलाई संवोधन गरी छुट्टा छुट्टै पत्र पठाएका थियौं । तर, कम्पनीले हामीले पाउनुपर्ने सेवा सुविधाको सम्बन्धमा कुनै पनि प्रक्रिया अगाडि नबढाएको र व्यक्तिगत सौदाबाजीमा रकम बुझ्न दबाब दिँदै आएको छ । 

३.    हामीले स्वेच्छाले नभई दबाबमा परी राजीनामा दिन बाध्य भएका हौं । नियमानुसार प्राप्त गर्नुपर्ने सेवा सुविधामा कुनै पनि सम्झौता नगर्ने हाम्रो अडान कायम छ र संवादको माध्यमबाट सहज निकास निकाल्न सकारात्मक पहल गर्दै आएका हामी कम्पनीको तर्फबाट कुनै पनि पहल नभएकाले बाध्य भई तपशीलमा उल्लेखित श्रमजीवी पत्रकारहरु कानून अनुसार प्राप्त गर्नुपर्ने सेवा सुविधाको लागि यस विभागको तर्फबाट आवश्यक कारबाही गरियोस् भनी यो निवेदन लिई उपस्थित भएका छौं ।  

(क)     तपशीलमा उल्लेखित श्रमजीवीहरुमध्ये हामी अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाको लागि विगत डेढ वर्षदेखि २० वर्षसम्म निरन्तर आफ्नो श्रम, शीप, क्षमता र दक्षता अर्पण गरेका श्रमिक हौं । श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ बमोजिम कुनै पनि सञ्चार प्रतिष्ठानमा २४० दिनभन्दा बढी निरन्तर सेवा गरेका कुनै पनि श्रमजीवी पत्रकार स्वतः स्थायी हुने प्रावधान छ ।

 

सोही प्रावधान अनुसार तपशीलमा उल्लेखित सबै श्रमजीवीहरुले अवकाशपछि सञ्चयकोष, उपदान, क्षतिपूर्ति, उपचार खर्च, सञ्चित विदाको रकमको साथमा भुक्तानी हुन बाँकी तलबभत्ता भुक्तानी सुविधा दिने व्यवस्था छ । उपदान तथा क्षतिपूर्तिका सम्बन्धमा पाँच वर्षभन्दा कम अवधि सेवा गरेकालाई पाँच वर्ष सेवा गरेको मानी सोही अनुपातमा क्षतिपूर्ति र उपदान सेवा दिनुपर्ने व्यवस्था छ ।

 

पाँच वर्षदेखि १० वर्षसम्म सेवा अवधि भएकाको हकमा प्रत्येक वर्षको लागि आधा/आधा महिना बराबरको उपदान तथा क्षतिपूर्तिको व्यवस्था, १० देखि १५ वर्ष सेवा अवधि भएकाको हकमा प्रत्येक वर्षका लागि १÷१ महिना बराबरको उपदान र क्षतिपूर्ति, १५ वर्ष भन्दा माथि सेवा अवधि भएकाको हकमा प्रत्येक वर्षका लागि डेढ÷डेढ महिनाको उपदान र क्षतिपूर्ति सुविधा दिनुपर्ने व्यवस्था छ । प्रत्येक वर्षको लागि एक महिना बराबर उपचार खर्च (यसअघि सेवामा रहँदा नदिइएकाले), १८० दिनसम्मको सञ्चित घरबिदाको रकम र बिरामी विदाको सम्बन्धमा सञ्चित सबै विदाको रकम भुक्तानी दिनुपर्ने व्यवस्था ऐन तथा नियमावलीमा छ । 

(ख)    यसरी रकम भुक्तानी गर्दा खाइपाइ आएको अन्तिम तलबमान अनुसार गणना गर्नुपर्ने हुन्छ । तथापि खाइपाइ आएको तलबमानको रकम न्यूनतम् पारिश्रमिक रु २४३०० भन्दा कम भएमा २४३०० लाई आधारभूत तलबमान मानी सोही अनुसार भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था छ ।

(ग)     पत्रिका बन्द गर्ने भनी दबाबपूर्ण अवकाशको लागि बाध्य पारिएकाले राजीनामापत्रमै कानून अनुसार भुक्तानी हुनुपर्ने रकम भुक्तान नभएमा वा कम्पनीले भुक्तानीको लागि आलटाल गरेमा रकम चुक्ता हुन आउने मितिसम्मको नियमानुसार तलबभत्ता भुक्तानीको माग गरी राजीनामापत्र बुझाएको थियौं । कम्पनीले यस अवधिमा हाम्रो सेवा सुविधाको रकम भुक्तान गर्नुको साटो मानसिक तथा शारीरिक तनाव दिँदै आएको छ । सो को समेत क्षतिपूर्ति गणना गरी भुक्तानीको माग यस निवेदनमार्फत गर्दछौं । 

(घ)     यसका अलावा कम्पनीले समयमा हाम्रो खातामा तलब नपठाएकाले हाम्रो प्रेस पास नवीकरण भएको छैन । हाम्रो तलबमानबाट नियमानुसार प्रत्येक महिना काटिएको टी.डी.एस. रकम पनि सम्बन्धित कर कार्यालयमा दाखिला गरिएको छैन । यसबाट हाम्रो पेशागत मर्यादा र सामाजिक सुरक्षालगायत विषयमा भविष्यमा ठूलो क्षति पुग्न जाने हुँदा सोको समेत क्षतिपूर्ति दाबी यसै निवेदनमार्फत गरिएको छ ।        

४.    माथि उल्लेखित भुक्तानी हुन बाँकी तलबभत्ता भुक्तानी, क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च (प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर), विदाको रकम, भुक्तानी हुन बाँकी चाडपर्व भत्ता, हाम्रो तलबमानबाट कट्टा गरिएको टी.डी.एस. को राजस्व दाखिला, प्रेस पास नवीकरण र सम्पूर्ण रकम भुक्तान हुन आउने दिनसम्मको खाइपाइ आएको तलबभत्ता सुविधाको साथै यस महामारीको समयमा कम्पनीको कारणले हामी श्रमजीवी पत्रकारहरुलाई पर्न गएको मानसिक, शारीरिक क्षतिको क्षतिपूर्ति समेत माग गरी निवेदनसाथ उपस्थित भएका छौं । 

५.    साथै, श्रमजीवी पत्रकारहरुलाई सेवा सुविधा नदिने हिसाबले कम्पनीले गरेको यस गैरकानूनी कार्यका लागि यस विभागको तर्फबाट कानून अनुसारको नसियत, दण्ड, जरिवाना वा सजायको माग समेत गर्दछौं ।  

६.    संलग्न कागजातहरुः 

(क)     (सामूहिक) दबाबपूर्ण राजीनामा को प्रतिलिपि …१

(ख)     अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाका सम्पादकलाई संवोधन गरेर लेखिएको मिति २०७८ वैशाख ९ गतेको जरुरी ध्यानाकर्षणपत्र तथा अपिलको प्रतिलिपि ……………………………१ 

(ग)     मिति २०७८ वैशाख १४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई लेखेको पुरानो तलबभत्ता तथा दबाबपूर्ण अवकास स्वरुप प्राप्त गर्नुपर्ने सुविधा नपाएको सम्बन्धमा  पत्रको प्रतिलिपि ……………………………………………..१  


(घ)     नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रा.लि.का अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई संवोधन गरी लेखिएको मिति २०७८ जेठ २२ गतेको ध्यानाकर्षणपत्रको प्रतिलिपि ……………….१  

(ङ)     अन्नपूर्ण पोस्ट् दैनिक, मानव संशाधन विभागका प्रमुखलाई संवोधन गरी लेखिएको पत्रको प्रतिलिपि …………………………………………………………………………….१ 

(च)    अन्नपूर्ण न्युज नेटवर्क इन्टरनेशनल प्रा.लि.को तर्फबाट प्राप्त राजीनामा स्वीकृत पत्र .. ७  

तपसिल

रामकृष्ण अधिकारी
प्रमोदकुमार गिरी
कृष्णप्रसाद मरासिनी
उमा बिष्ट
माधव छिनाल
विनय बञ्जारा
दीपकराज घिमिरे 

बोधार्थः
१. श्री अध्यक्षज्यू,
नेपाल पत्रकार महासंघ,
सञ्चारग्राम, सिनामंगल, काठमाडौं ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?