
सिमकोट – सुत्केरी व्यथा लागेकी गर्भवतीको अस्पतालले जिल्लाबाहिर रिफर गरे पनि उद्धार हुन सकेको छैन।
तीन दिनदेखि बिहानैबाट लगातार पानी परिरहेका कारण सुर्खेतबाट सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवतीको उद्धार हुन नसकेको हो।
प्रसव व्यथा लागेकी उनको खराब मौसमका कारण तीन दिनदेखि हेलिकप्टरबाट जिल्लाबाहिर उद्धारका लागि कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्था भए पनि लगातारको वर्षाका कारण हेलिकप्टर उड्न सक्ने अवस्था नरहेकाले उद्धार हुन नसकेको उनले बताए।
उद्धारका लागि चाहिने आवश्यक कागजात तयार भइसकेको, सुर्खेतमा रहेको सेनाको हेलिकप्टरसँग पनि समन्वय भएको तर मौसममा सुधार नआएका कारण उद्धार गर्न कठिन भएको उनले बताए।
मौसममा सुधार आउने नदेखिएको कारण उद्धार गर्न सम्भव देखिएको छैन। उद्धारकै लागि हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहेको प्रजिअ आचार्यले बताए।
सिमकोट गाउँपालिका–६ की २७ वर्षीया जगतमाया रोकायाको सोमबारदेखि व्यथा लागेको र अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने कमी, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।
अवस्था जटिल भएका कारण बाहिर रिफर गरिएको उनले बताइन्। उनलाई चिकित्सकले असार २७ गते गर्भवती हुने दिन तोकेको छ।
जिल्लामा उपचार गर्न नसकिने भएपछि नेपालगञ्ज रिफर गरिएको उनले बताइन्। त्यसैगरी, प्रसूति व्यथा लागेकी महिला सर्केगार्ड गाउँपालिका–१ को तुम्च गाउँकी ३५ वर्षकी कलसा रावतको केश भने स्वास्थ्यचौकीमै उपचारपछि समाधान भएको छ। उनको पनि मंगलबार हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो।