
काठमाडौं- रातो मच्छिन्द्रनाथको रथलाई तानेर विहीबार जावलाखेल पुर्याइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो।
जावलाखेलमा पुर्याएको रातो मच्छिन्द्रनाथको रथमा चढेर आइतबार भोटो देखाउने कार्यक्रम छ। सरकारले उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिएको छ।
बुधबार राति रातो मछिन्द्रनाथलाई पुल्चोक रथमा पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो। रथ तान्ने पर्वभरि होम र गाईदान गर्ने गरिन्छ।
रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्।
करिब १ हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।
जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन्। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो यो।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्याउने चलन छ । त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्याइनेछ ।
पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ। यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ।