
सिमकोट– सुत्केरी बेथा लागेकी गर्भवतीको सातौं दिनमा उद्धार गरिएको छ। लगातार पानी परिरहे पनि आइतबार बेलुका मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरले उडान भरेपछि उनको उद्धार गरिएको हो।
सात दिन अगाडि हुम्ला अस्पतालले जिल्लाबाहिर रिफर गरेपनि उद्धार हुन नसकेको गर्भवती महिलाको आइतबार बल्ल उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।
सेनाको सुर्खेतमा रहेको हेलिकप्टर बाढी पहिरोको उद्धारमा लागेको कारण काठमाडौँबाट आएको हेलीले उनको सुर्खेत अस्पतालमा उद्धार गरेको हो।
छैटौँ दिनसम्म दैनिक बिहानबाटै हेलिकप्टर आउने आशा गरे पनि खराब मौसमको कारण बेलुकासम्म नआएपछि आसै मर्ने गर्भवती श्रीमान् जितेन्द्र रावतले बताए। हेलिकप्टर चढ्नुअघि बल्ल हेलिकप्टर आएर श्रीमतीको ज्यान बाँच्ने आशा पलाएको उनले बताए।
यसअघि बिहानबाटै सुर्खेतबाट हेलिकप्टर बोलाउने गरे पनि लगातारको वर्षाका कारण त्यो सम्भव हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीले बताए।
अस्पतालले ६ दिनअगाडि जिल्लामा अप्रेसन गर्न सम्भव नहुने भएपछि जिल्लाबाहिर रिफर गरेको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।
अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्था भएको हो।
सिमकोट गाउँपालिका–६ की २७ वर्षकी जगतमाया रोकायालाई बेथा लागेको र अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको थियो।
अवस्था जटिल भएका कारण बाहिर रिफर गरिएको हो। लामो समय भएका कारण पेटभित्रको बच्चा भने जीवित नरहेको अस्पतालले जनाएको छ।