
सिमकोट – पाकेर टिप्नै लागेको ७० रोपनी जग्गामा लगाएको गहुँ बालामा जमरा उम्रिएर नोक्सानी भएको छ। लगातारकाे वर्षाको कारण पाकेको गहुँको बालामा पानी पसेपछि जमरा उम्रेकाे हाे।
खार्पुनाथ गाउँपालिका –५ का अर्जुन शाहीले २० रोपनी जग्गामा लगाएको गहुँ बालीमा जमरा उम्रेर नोक्सानी भएको जानकारी दिए ।
गाउँका ४० भन्दा बढी घरधुरीले लगाएको गहुँ बालीमा लगातारकाे वर्षाको कारण क्षति पुगेकाे उनले बताए।
वर्षाका कारण पाकेको गहुँ बाली टिप्नै लागेका बेला भएको क्षतिले किसानहरु चिन्तामा परेका छन्।
गहुँ टिप्नका लागि गएकोमा बाला भरी जमरा उम्रेको पाइएपछि रित्तै घर फर्केको शाहीले बताए।
बाहिरबाट हेर्दा पहेँलै पाकेको गहुँ बाली देखिने तर बालाको अवस्था नष्ट भएको देखिपछि किसानलाई भोकमरीको चिन्ता थपिएको छ।
खार्पुनाथ गाउँपालिकाका कृषि शाखाका प्राविधिक हर्कवीर रावलले हेर्दा बाला राम्रो देखिए पनि जमरा उम्रेर बिग्रिसकेकाे बताए।
भारी वर्षाको कारण ७० रोपनी जग्गामा लगाएको गहुँ बालीमा नोक्सानी भएकाे उनले बताए ।