
सिमकोट – विद्युत् र सञ्चारको समस्याबीच हुम्लाका सबै गाउँपालिकालाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाको चटारो सुरु भएको छ। बस्ती, वडा हुँदै विषयगत समितिमा छलफल चलाएर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम पारित गर्नुपर्ने भएपछि सात वटै गाउँपालिका बजेट तर्जुमामा लागेका हुन्।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार असार १० गते गाउँ सभा बस्ने र बजेट प्रस्तुत गर्नुपर्ने भएको कारण अन्तिम तयार भइरहेको छ। उनले प्रदेशबाट प्राप्त हुने बजेटबाहेक ४३ करोडको बजेट तर्जुमा गर्ने कार्य भइरहेको बताए।
पूर्वाधार विकास, स्वास्थ्य र दिगोपनालाई प्राथमिकतामा बजेटले दिने जानकारी दिँदै उनले कार्यालयमा कर्मचारीलाई बिहानैबाट राति अबेरसम्म बजेटको तयारीमा लागेको बताए।
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय लालप्रसाद ढकालले बजेट तर्जुमाको चटारो सुरु भएको बताए।
२३ करोडको बजेट ल्याउन तयारी गरिरहेको उक्त गाउँपालिकाले सडक र आयआर्जनका क्षेत्रमा बजेटले प्राथमिकता दिने जनाएको छ। यता, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले २८ करोडको बजेट ल्याउन तयारी भइरहेको र सो बजेटले जीविकोपार्जन र विद्युतीकरणलाई प्राथमिकतामा राख्ने बताए।
यता, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले २३ करोड ७६ लाखको बजेट सार्वजनिक गर्न लागेकामा पर्यटन र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेको बताए।
उनले योजना तर्जुमाका धेरै चरण पूरा भइसकेको र कार्यपालिकाबाट बजेटलाई पारित गराएर १० गते बस्ने गाउँसभामा लैजानका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए। जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाले पनि बजेट निर्धारित मितिमै ल्याउनका लागि तयारी तीव्र पारिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए।
बजेट तर्जुमा कार्य चंखेली र अदानचुली गाउँपालिकाले पनि तीव्रता दिएको जनाएका छन्। नियमतः असार १० गते स्थानीय तहले गाउँ सभाको आयोजना गरेर बजेट पेस गर्नुपर्ने भएका कारण यसको तयारी गरिरहेको जनाएका छन्।
कोरोना कहरबीच गाउँपालिकाले जनस्वास्थ्यका सुरक्षाका उपाय अपनाएर बजेट तर्जुमाका चरण पूरा गर्दै आएको जनाएका छन्।