‘म तीन दिनमा निको भएर आउँछु।’
एक साताअघि मात्र किस्ट अस्पतालमा सत्यमोहन जोशीले पंक्तिकारलाई काँपेकै स्वरमा यसो भनिरहँदा उनका नाकमा अक्सिजनका पाइप थिए भने दुइवटै हातमा जताततै थुप्रै तार र पाइपहरु झुण्डिरहेका देखिन्थे। एकथुप्रो पाइप त पेटतिरबाट पनि निस्केका थिए। आँखा रसाएर झोल्लिएको थियो। उता छेउको मनिटरमा रक्तचापको मात्रा असाध्यै तल गिरेको देखिन्थ्यो। ९७ बाइ ४६।
र, यो सबैभन्दा महत्वपूर्ण चाहिँ यसरी आत्मविश्वासका साथ बोलिरहने मानिस १ सय २ वर्षमा दौडिरहेका थिए।
नभन्दै उनी तीन या चार दिनमै घर आइपुगे।
तीनपटक मदन पुरस्कार जित्ने वाङ्मय शताब्दी पुरुष जोशीलाई के कुराले यति बलियो बनाएको छ?
जोशी घर आइपुगेको जानकारी पाएपछि म सबेरै उनको निवासमा पुगेँ। अस्पतालमा त्यस्तो रुग्ण अवस्थामा देखेको मानिस यहाँ त फेरि उस्तै!
‘यो बा खाली हिँडेको हिँड्यै गर्नुहुन्छ,’ माहिली छोरी गंगा गुनासो गर्दै थिइन्, ‘कमजोर भएको बेला त आराम गर्नु नि! हामीले कराइराख्दा पनि एक–एक छिनमै सिँढी चढ्ने र ओर्लने गरिरहनुहुन्छ।’
उता जोशी पनि कम थिएनन्।
‘जस्तै कमजोर भए पनि मानिसलाई एक्सरसाइज चाहिन्छ नि!’ घरि मतिर त घरि परिवारतिर हेर्दै उनी सम्झाउन खोजिरहेका थिए, ‘त्यसरी हिँड्दा एक्सरसाइज पनि त हुन्छ।’
कतैतिरबाट पनि उनी दस दिन अस्पताल बसेर भर्खर आएका शताब्दी पुरुष देखिन्थेनन्।
प्रश्नको सुरुवात उनी अस्पताल जानुपर्नाको कारणबाटै गरेँ। जवाफ फेरि अर्कै थियो।
‘म अस्पताल भर्ना भएको भनेपछि सबैले ‘यसलाइ पनि लागेछ कोरोना’ भने होलान् होइन?’ उनले स्पष्ट पारे, ‘त्यहाँ पनि डाक्टरहरुले लग्नेबित्तिकै कोरोनाकै टेस्ट गरेका थिए। नेगेटिभ आयो। कहाँ कोरोना लाग्नु?’
उनले कोभिड १९ विरुद्धको दुइवटै मात्रा खोप लगाइसकेको जानकारी पनि दिए।
‘पहिलो डोज त्यही किस्ट अस्पतालले लगाइदिएको थियो,’ थपे, ‘त्यसपछि दोस्रो डोजका लागि सेनाले बोलाएर उनीहरुसँग भएको खोप लगाइदिइसके।’
उनलाई अस्पताल लैजानुको कारण करिब तीन वर्षअघि जस्तै फेरि फोक्सोमा पानी जम्ने समस्या बल्झिनाले हो भनेर सुनेको थिएँ। त्यतिबेला बयोधा अस्पतालमा उनको फोक्सोबाट पानी निकालिएको थियो। मैले त्यही सोधेँ।
‘त्यस्तो पनि होइन,’ उनले स्पष्ट पारे, ‘पहिले पानी जमेकै ठाउँमा अलिक असजिलो जस्तो भएपछि के गरौं भइरहेको थियो। श्वास फेर्न अलिक गाह्रोजस्तो पनि भयो। सबैतिर अक्सिजनकै ब्यापक चर्चा चलिरहेको बेला मलाई पनि त्यस्तै अक्सिजन नै नपुगेको हो कि भनेजस्तो शंका पनि लाग्यो। त्यतिबेलै छोरीले अस्पताल लगेकी हुन्।’

अस्पताल गएपछि त परीक्षण गर्ने क्रममा मुटुको डाक्टर पनि आएछन्। डाक्टरहरुले अकस्मात ‘तपाईँ भर्ना हुनुस्’ भने।
‘उनीहरुले नै क्याबिनको सम्पूर्ण व्यवस्था गरिसकेका थिए,’ जोशीले सुनाए, ‘त्यसै हिसाबले भर्ना भएँ र अनेक जाँच परीक्षण सुरु भयो।’
डाक्टरहरुले कोठैमा मेशिन ल्याएर तीनपटक त एक्सरे नै लिएछन्। अनेक ‘स्क्यान’ गरेपछि फोक्सोमा एउटा दाग फेला पर्यो।
‘सुरुमा त मलाइ क्षयरोगको शंका गरे,’ उनले भने, ‘दुःखेको पनि थिएन। ‘कहाँबाट मलाइ क्षयरोग हुन्छ?’ भनेर डाक्टरहरुलाइ भनेँ।’
त्यसपछि खकार पनि लिएर भक्तपुरतिर लगे। क्षयरोग होइन भन्ने भएपछि त्यो पनि अघि बढेनछ। त्यसपछि निमोनिया पो हो कि भनेर पनि शंका गरे।
‘पछाडि पिठ्युँतिरबाट घोचेर पनि केके गरेर हेरे,’ उनले थपे, ‘त्यता पनि खासै ठूलो समस्या रहेनछ भन्ने थाहा भयो।’
यसरी बारम्बार आएका डाक्टरहरुले अलिअलि छोए। बाफ लिन लगाए। औषधि दिए।
‘मलाइ उत्तिखेरै निको भएजस्तो लाग्यो,’ जोशी भन्छन्, ‘त्यसपछि घर जान्छु भनेँ।’
आफूहरुले ‘एन्टिबायोटिक’ चलाइरहेको र त्यसको मात्रा पूरा नहुन्जेल नगएको उत्तम हुन्छ भनेर डाक्टरहरुले सुझाएछन्। त्यसबाहेक उनको रक्तचाप पनि अलिक कमै देखिएपछि मुटुको मामलामा पनि ढुक्क हुनुपर्ने थियो। यसरी दस दिन लगाएर ‘एन्टिबायोटिक’को मात्रा पूरा भएपछि आफूलाई घर पठाइदिएको उनले स्पष्ट पारे।
‘शरिरभरि घोपेका सुइ झिक्दा त आनन्द लागेर आयो,’ उनी भनिरहेका थिए, ‘यताउति हिँड्न पनि नपाइने त्यो अस्पताल बसुन्जेल त के नमिल्ने के नमिल्ने जस्तो असजिलो भइरहेको थियो।’
फोक्सोमा देखिएको त्यो सानो दाग अर्थात् निमोनियाजस्तो त्यो चिजलाई समयमै उपचार नगरेको भए बढ्दै गएर पछि चाहिँ गाह्रो हुने थियो भनेर उनलाई डाक्टरहरुले बताएका रहेछन्।
‘समयमै गएर चेक गरेकोले तै समाधान भयो,’ उनले मुसुक्क हाँस्दै भने, ‘अब ठीक छु।’
आफ्नो उमेरसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा आएका परिवर्तनले पनि उनलाई चकित पार्दै लगेको छ।
‘पहिले पहिले अस्पतालमा भर्ना हुँदा डाक्टरहरुले आएर अनेक प्रश्न सोध्थे,’ उनी भनिरहेका थिए, ‘अब त त्यो छेउको कम्प्युटर जस्तोमा सबै कुरा देखिँदो रहेछ। बोल्नै नपर्ने। डाक्टरहरु आएर त्यही हेर्थे। खासखुस गर्थे र जान्थे।’
जोशी आफूलाई माया गर्नेहरुको गुण सम्झिरहन्छन्।
अघिल्लोपटक बयोधा अस्पतालमा भर्ना हुँदा १२ लाख रुपैयाँ खर्च उठेको थियो। त्यतिबेला भेट्न आएका तत्कालीन गृहमन्त्री बामदेव गौतमले सरकारकै तर्फबाट सबै पैसा बेहोरिदिने बताएछन्। यसपाला पनि किस्ट अस्पतालले एक रुपैयाँ पनि जोशी परिवारसँग लिएनछ।
‘किस्ट अस्पताल परिवारले मलाइ एकदमै माया गरिरहेको छ,’ जोशी भनिरहेका थिए, ‘मैले मृत्युपछि आफ्नो शरिर परीक्षणका निम्ति त्यो अस्पताललाई दान गर्ने पनि घोषणा गरिसकेको छु।’
घर आएपछि जोशीको दैनिकी फेरि उस्तैगरी चल्न थालेको छ।
बिहान साढे पाँचै बजे उनी उठिसकेका थिए। त्यसपछि नित्यकर्म गरे।
‘एक कप चियासँग बट्टाइका दुइवटा उसिनेका अण्डा खाएँ,’ उनले छेवैमा अण्डाको बुट्टेदार बोक्रा देखाउँदै भने, ‘त्यसपछि एक कप चिया पिएको छु।’
छेउमा एउटा कुखुराको उसिनेको अण्डा पनि देखिन्थ्यो।
‘यो खाएपछि अहिले भात नरुच्ला कि भन्नेजस्तो भयो,’ उनले भने, ‘त्यसैले त्यत्तिकै छाडेको छु।’
दिउँसो खाजामा घरमा जे पाकेको छ, त्यही खान्छन्।
अस्पताल जानुभन्दा केहि दिनअघि मात्र दिउँसो भेटघाटमा पुग्दा उनले पंक्तिकारलाई सोधेका थिए, ‘तपाइँले छोइला खाने गर्नुभएको छ?’
सहमतिमा मुन्टो हल्लाएपछि दुइवटा ठूला रिकापीमा छोइला र चिउरा आइपुगेका थिए। त्यो उमेरमा पनि उनलाई कपाकप छोइला र चिउरा चपाएर खाइरहेको देख्दा ताज्जुब लागेको थियो।
‘रातिको खानामा पनि दालभात नै खान्छु,’ उनी भनिरहेका थिए, ‘रोटी उत्तिसाह्रो मन पर्दैन, त्यसैले कहिलेकाहिँ मात्र खान्छु।’
जोशीको शरीरले यो उमेरमा पनि यति दह्रोसँग कसरी काम गरिरहेको छ भन्ने शायद भविष्यमा किस्ट मेडिकल कलेजले खोजेर पत्ता लगाउला। तर, उनले बेला बेलामा प्रदर्शन गर्ने क्षमता अचम्मकै हुन्छ।

किस्ट अस्पतालमा सत्यमोहन जोशीसँग तस्बिर खिचाउँदै पंक्तिकार गिरीश गिरी।
करिब दुई महिनाअघि जोशीको आँगनमा बिहानै कुनै वृद्धवृद्धासम्वन्धि संस्थाका मानिसहरु आइपुगेका थिए। उनीहरु जोशीलाई एउटा कागजमा हस्ताक्षर गराउन चाहन्थे। जोशीले त्यसभन्दा पहिले त्यहाँ लेखिएको विवरण पढ्न खोजे। चश्मा घरभित्रै थियो। ल्याउन्जेल समय लाग्ने देखेपछि जोशीले त्यत्तिकै खुइँखुइँती पढ्न सुरु गरे। उनले भट्याएर पढेका दृश्य देखिरहेका र सुनिरहेका त्यहाँका सबै वृद्धहरुको आश्चर्यले आँखा च्यातिए।
तर, जतिसुकै तगडा भए पनि उमेरसँगै उनको हेरविचार जरुरी भएको छ।
त्यसैले किस्ट अस्पतालले अहिले एकजना नर्स पनि बिहानदेखि बेलुकीसम्मै साथै बस्नेगरी पठाइदिएको रहेछ।
‘अस्ति आइतबारदेखि मलाई अस्पतालले उहाँको घरैमा आएर कामगर्ने जिम्मेवारी सुम्पेको हो,’ तीन वर्षदेखि किस्टमा नर्स कार्यरत सुर्खेतकी सरिता क्षेत्री भनिरहेकी थिइन्, ‘यतिउति दिन केही भनेको छैन।’
क्षेत्रीका अनुसार जोशीको अवस्था यतिखेर सामान्य छ। खानपिनदेखि लिएर औषधि खुवाउन पनि कुनै मुश्किल छैन।
औषधि के के छन्?
‘छातीको औषधि बिहान एउटा र बेलुकी एउटा गरेर दुईवटा छ,’ उनले थपिन्, ‘त्यसबाहेक एउटा भिटामिन पनि दिएको छ।’
क्षेत्रीका अनुसार जोशीले त्यसबाहेक अरु कुनै औषधि खानुपर्दैन।
‘अलिकता कमजोरी छ भन्नुहुन्छ,’ उनले थपिन्, ‘नत्र अर्थोक केही छैन।’
कमजोरी किन भइरहेको हो?
‘अस्पतालबाट भर्खरै आएको मानिस अलिक आराम गरे पनि ठीक हुँदो हो,’ नर्स क्षेत्रीको पनि उही गुनासो थियो, ‘कत्ति हिँडिरहनु हुन्छ!’
जोशीले एकतमास नर्सतिर हेर्नथाले।
‘त्यसरी हिँड्ने बानीले नै त उहाँको आयु यति लामो भएको हो नि।’
यति भन्नासाथ फेरि मतर्फ घुमेका जोशीका नजर चम्किला देखिन थाले।
परिवारका सदस्यको हवाला दिँदै जोशीलाई खाना पनि कम रुच्न थालेको नर्स क्षेत्रीले बताइन्।

श्रीमती राधा र माइली छोरी गंगाका साथ सत्यमोहन जोशी।
‘के खान मनलाग्छ सर?’ मैले सोधेँ, ‘कुनै विशेष परिकारमा रुचि छ कि?’
उनले टाउको हल्लाए।
‘होइन,’ थपे, ‘घरैमा पकाएको खानेकुरा नै ठीक लाग्छ।’
जोशीको घरमा वर्षौं पहिलेदेखि एकजना वृद्धा कामगर्दै आइरहेकी छिन्। उनी हुन् चिरिमइ। बजार गएर किनमेल गरेर ल्याउनेदेखि खाना पकाएर ख्वाउनेसम्म काम उनी एक्लैले सम्हालेकी छिन्। केही वर्षयता जोशीकी श्रीमती खुट्टाको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि त झनै उनीमाथिको निर्भरता बढेको छ।
यसपाला जोशीको सिरानीमै ल्यापटप पनि देखियो।
‘ओहो! कम्प्युटर पनि आएछ त?’
जोशी पनि जवाफ दिन तयार भए।
‘यसो भयो, कम्प्युटर अघिदेखि कै हो। माइलो छोरा हेमन्तले क्यानाडाबाट पठाइदिएको। त्यत्तिकै थियो। अहिले देवकीले के के गरेर इन्टरनेट जोडिदिएकी छ। हामी बुढाबुढी आजभोलि छोराहरुसँग यसैमा कुरा गर्न थालेका छौं।’
जोशीको सालीकी छोरी देवकी यो परिवारकै एक अभिन्न सदस्य हुन्। पछिल्लो समय जोशीको घर नियमित जानेहरुले देवकीलाई सबैभन्दा बढी सक्रिय रुपमा देख्नेगरेका छन्। सानैमा बाआमा गुमाएकी उनलाई जोशीले आफ्नै घरमा छोराछोरीसँगै हुर्काइपढाइ आफैँले बिहे गरिदिएका हुन्।
‘ऊ पनि मेरै छोरी हो,’ जोशी भन्छन्, ‘अहिले उसैले आएर हेरिरहेकी छ।’
त्यसबाहेक भिमफेदी बिहे भई उतै सरकारी स्कुलमा शिक्षिकाबाट अवकाश पाएकी माहिली छोरी गंगा पनि हिजोआज बाआमासँगै भेटिन्छिन्।
जोशी दम्पत्तिका बाँकी सन्तानमध्ये जेठी छोरी काबेरीको परिवार ललितपुरकै सुन्धारामा बस्छ। नागरिक उड्ययनबाट अवकाश पाएका जेठा छोरा अनुराज सपरिवार ताहाचलमा बस्छन्। उनी जोशी अस्पताल रहँदाका पछिल्ला दस दिन यता आएर आमासँग घरमै बसेका रहेछन्। विद्यावारिधि गरेका माहिला छोरा हेमन्त सपरिवार क्यानाडामा बस्छन् भने मेडिकल डाक्टर रहेका कान्छा छोरा पूर्णराजको परिवार बेलायतमा छ। त्यसैगरि कान्छी छोरी खड्गलक्ष्मी अमेरिकामा छिन्।
‘देवकीले अस्ती यो इन्टरनेट लगाइदिएपछि हामी सबैजना एकअर्कालाई हेरेरै कुरा गर्न थालेका छौं,’ जोशीले भने, ‘अरु सबैले उही परिवारकै सामान्य कुराकानी गरे पनि कान्छो छोरा चाहिँ डाक्टर भएकोले ऊ स्वास्थ्यकै विषयमा बढी सोधीखोजी गर्छ।’
केही वर्षयता नियमित भेटघाट गर्दैआएको यो पंक्तिकारसँग जोशी मुडमा रहँदा बेलाबेलामा परिवारका कुरा पनि गर्छन्। यस्तो बेलामा बढीजसो चर्चा उनी नातिनातिनाको गरिरहेका हुन्छन्। त्यसमा पनि कान्छो छोराको एकमात्र छोरा अर्थात् नातिका बारे उनी बारम्बार प्रसंग निकालिरहन्छन्।
‘बाउआमासँग बेलायत जाने बेलामा त्यो सानै थियो,’ उनी भन्छन्, ‘अहिले त ऊ पनि क्याम्ब्रिजमा पढेर डाक्टर भइसकेको छ।’
ती नातिले अष्ट्रेलियामा रहेकी एक नेवार चिकित्सककै छोरी मनपराएको र उनीहरुको प्रेम प्रसंगदेखि लिएर विहेसम्मका सन्दर्भहरु जोशीले दर्जनौंपटक उल्लेख गरेका छन्। त्यसरी उल्लेख गर्दा कतिपय ठाउँमा रमाइलो मानिरहेका हुन्छन् भने कतिपय ठाउँमा उनी अचम्म पनि व्यक्त गरिरहेका हुन्थे।
विशेषगरी केहि वर्षअघि ती नातिले बिहेअघि मनपरेकी युवतीसँग साथसाथै बसेका सन्दर्भहरु उल्लेख गर्दा जोशीका जीवनभोगाइमा समय कसरी फेरियो भन्ने कुराको असाध्यै रोचक अनुभूति महसुस गर्न सकिन्थ्यो। त्यसैगरी माहिलो छोरातर्फको नातिले क्यानाडामै बसोबास गर्ने डेनमार्ककी युवती बिहे गरेपछि अहिले उनीहरुबाट पनि सन्तान जन्मेको कुरा उनी स्वादले उल्लेख गर्छन्।
‘त्यो बच्चा पनि अहिले टुकुटुकु हिँड्ने भइसक्यो रे!’ उनी पनातिको बारे उल्लेख गर्दा फुरुङ्ग देखिन्थे, ‘चञ्चल छ भन्छन्, ख्वै आफूले देख्नपाएको छैन।’
आफू उता जान नपाए पनि आफ्ना नातिहरुको बिहेको कार्डमा आफ्नै नामले निम्तो बाँडिएको प्रसंग निकाल्दा उनी मुसुमुसु हाँसिरहेका थिए।
‘मेरै नामले मैले नै बोलाएर भोज हुन्छ,’ उनी खित्खित् हाँसे, ‘आफू यतै हुन्छु।’
तै कान्छो छोरातर्फको नातिले भने पोहोर साल नेपालमा आएर पनि भोज दिएका रहेछन्।
यता नेपालमै बसेका जेठो छोरा अनुराजको पनि छोरी तर्फबाट पनाति भइसकेको छ। छोरा तर्फबाट भर्खर जन्मेको पनातिनीको चाहिँ केहि दिनमै पास्नी हुनलागेको रहेछ।
‘पर्सि १७ गते पास्नी छ। गर्न त मैले नै गर्नुपर्ने हो। म उता ताहाचल जान सक्दिनँ। यतै आएर भोजसोज गर्ने भनेका छन्। यता फेरि साँघुरो छ। अर्को फेरि यतिबेला धेरै भिडभाड गर्ने समय पनि छैन। अहिले कोरोनाको समय छ। यो जस आउने बेला होइन त्यसैले धेरै तडकभडकतिर नलाग्नु भनेको छु। हेरौं के हुन्छ!’ जोशीले सुनाए।
जोशीले यत्रोे लामो आयु बाँच्दा धेरैपटक शरीरलाई घात हुने अनेक खाले परिस्थितीहरु झेलिसकेका छन्। यसरी लगातार जुझेर अगाडि बढ्न यी शताब्दी पुरुषलाई कुन शक्तिले काम गरिरहेको छ? के ले यस्तो तगडा बनाउँदो रहेछ? कसरी सजिलै ‘सेन्चुरी’ हिर्काउन सफल भए?
‘केही होइन,’ उनले सहजै भने, ‘आत्मबल र इच्छाशक्ति नै सबैभन्दा ठूलो कुरो रहेछ।’
तर, यति भनेर उनी थामिएनन्।
‘त्यो आत्मबल र इच्छाशक्तिको श्रोत चाहिँ फेरि दर्शनबाट निर्देशित हुनुपर्छ,’ उनले थपे, ‘दर्शनमा आधारित हुने हो भने त्यसबाट धेरै शक्ति मिलिरहेको हुन्छ।’
उनका अनुसार जस्तो कि, जीवनमा भइरहेका अनेक उतार चढाव र घटनाहरुलाई पनि त्यो दर्शनले नै सहज रुपमा स्वीकार्न मद्दत गर्छ।
‘कस्तै संकटमा पनि एकखाले समझको विकास भएपछि त्यो खासै ठूलो लाग्दैन,’ उनले भने, ‘मुख्य कुरो विचलित हुन दिँदैन।’
जोशीले पछिल्ला भेटघाटहरुमा आफ्नो केही समय अहिले पनि अध्ययनमा व्यतीत हुने बताएका थिए।
‘अहिले के पढिरहनुभएको छ?’
‘किताबहरु चाहिँ अहिले पढेको छैन,’ उनले भने, ‘यसो के भइरहेको छ भन्ने चासोले गर्दा अखबारहरु चाहिँ नटुटाइ पढिरहेको छु।’
त्यससँगै उनले पछिल्ला राजनीतिबारे पनि चर्चा गरे। विशेषगरेर अध्यादेशबाट आएको बजेटमा प्रकृतिको दोहन गरेर ढुँगा र बालुवा बेच्ने सन्दर्भ उल्लेख भएकामा आफू चिन्तित बनेको उनले बताए।
उनी फेरि आफूलाई बलियो बनाउने शक्तिको श्रोतबारे उल्लेख गर्न थाले।
‘म मात्र होइन कोही पनि मानिस आफैँमा धेरै बलियो हुँदैन,’ उनले थपे, ‘तर, उसले विकास गरेका मान्यताहरुले भित्रैदेखि बलियो हुन मद्दत गर्ने रहेछ।’
मेरो मुखबाट अनायासै ‘यो बीचमा सरको पुरानो मित्र पनि बित्नुभयो’ भन्ने वाक्य निस्क्यो।
त्यो वाक्य पुरा भएको पनि थिएन परिवारका सदस्यहरुले मलाई इशारा गर्दै ‘थाहा दिएको छैन’ भन्नथाले।
उता जोशी भने ‘हँ को हो त्यो?’ भनेर सोध्या सोध्यै गर्न थाले।
म धर्मसंकटमा परेँ।
मैले एकाध अन्य प्रसंगतर्फ मोड्न खोजे पनि जोशीको अनुहारमा अझै उज्यालो देखिएन। मलाइ थकथकी लागिरह्यो। त्यतिबेलै अर्को प्रश्न फुर्यो।
‘सर हिजोआज ऐला (मदिरा) खानुहुन्छ कि हुँदैन?’
यति सोध्नुमात्र के थियो बल्ल जोशीको अनुहारमा रंग फर्कियो।
‘त्यो त अहिले खाएको छैन,’ उनी मुसुमुसु हाँस्न थाले, ‘अस्ति अस्पताल जानुभन्दा पहिलेसम्म त खाइरहेकै थिएँ। अब पनि पूजाआजा भयो भने त प्रसाद खाइहाल्छु नि! खाइरहेको कुरा हो, अलिक सञ्चो भएपछि खुवाउने मानिस पाएँ भने फेरि खान्छु।’
उनले थप प्रष्ट पार्न जरुरी सम्झे, ‘तर, लाग्ने गरेर चाहिँ खान्नँ।’

भर्खरै
लोकप्रिय






































































































































































































