
सिमकोट – हिमाली जिल्ला हुम्लाका चार वटा गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य र कषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्।
बिहीवार गाउँ सभामा सिमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिकाले सो बजेट ल्याएका हुन्।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले०७८।७९ को बजेटमा सडक, मर्मत सम्भार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
गाउँ सभामा प्रस्तुत गाउँपालिकाका उपाध्यक्ष बली रावतले प्रस्तुत गरेको बजेटमा सो कुरालाई प्राथमिमता दिइएको हो। गाउँपालिकाका आठ वटा वडा मध्यसडक सञ्जाल जोडिन बाँकी वडा नम्बर ८ को सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए।
त्यससँगै सिमकोट गाउँपालिकाले पहिलो पटक निर्माण गरिएका भौतिक पूर्वाधारका क्षेत्रका लागि मर्मत सम्भारलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याएको छ। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पनि प्राथमिकताका विषयमा राखिएको अध्यक्ष लामाले बताए। उक्त गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ४६ करोड ४६ लाख ४५ हजारको रहेको छ।
यता, खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रमलाई गाउँपालिकाका सबै नागरिकलाई पूर्णरूपमा निःशुल्क गर्ने कार्यक्रमसहित स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।
त्यससँगै सबै वडामा सडक निर्माण, शिक्षा, कृषि र पशु विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए। उक्त गाउँपालिकाले ३६ करोड ६९ लाख ११ हजारको बजेट ल्याएको छ।
यता, दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए। त्यसैगरी स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको उनले बताए।
सो गाउँपालिकाले २७ करोड ९८ लाख ६२ हजारको बजेट आगामी वर्षका लागि ल्याएको छ।
त्यसैगरी, दक्षिणी क्षेत्रकै अर्को ताँजाकोट गाउँपालिकाले सडक, पहिरो पीडितका लागि पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।
सो गाउँपालिकाले ३१ करोड १९ लाखको बजेट ल्याएको छ। यी गाउँपालिकाले तोकिएको मितिमै बजेट ल्याएका हुन्।