
काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकलाई तीव्रता दिएका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ। भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिं, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति थियो।
भेलाले कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानबिन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतिको उम्मेदवार छान्न ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आए पनि सहमति निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए।
आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनको भनाइ छ।