
सिमकोट– आगामी ६ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।
कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माण प्रक्रिया अगाडि बढेपछि सदरमुकाम जोडिने बाटो खुलेको हो।
पुससम्म हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए।
सरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड खण्डको छारे र लेप्चे क्षेत्रमा ५० मिटरका दुई वटा बेलिब्रिज निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ।
आयोजनालाई जति सक्दो चाँडो सदरमुकाम सिमकोटसँग राष्ट्रिय सडक सञ्जाल जोड्न दबाब छ। यसका लागि डेढ करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ। सिमकोटलाई सडक सञ्जालसँग जोड्नका लागि एप्रोज रोड निर्माण गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने कार्य भइरहेको छ।
तत्काललाई वैकल्पिक माध्यमबाट सडक जोडिनेछ। सबै कुराले साथ दिए ६ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउँदै प्रमुख लामाले छारेबाट लेप्चेसम्मको डेढ किलोमिटर सडक निर्माण कार्यलाई पनि तत्काल सुचारु गरिने बताए।
उक्त क्षेत्रको केही भागबाहेक अन्य सडक निर्माण गर्न सहज रहेको छ। असजिलो भागमा विस्फोट गरेर सडक निर्माण गर्ने तयारीमा आयोजना रहेको छ।
अब आयोजनाले १० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको बताउँदै उनले हाल दुवैतिर काम भइरहेको बताए। सर्केगार्डबाट अगाडि बढेको सडक निर्माण कार्य स्याल्तडीमा पुगेको छ।
साउन मसान्तसम्म त्यसको पनि पाँच किलोमिटर निर्माण भइसक्ने आयोजनाले जनाएको छ। खार्पुनाथ गाउँपालिकाको लाली बगरबाट स्याल्तडीसम्मको १० किलोमिटर सडक निर्माण धमाधम भइरहेको जानकारी दिँदै उनले बेलिब्रिज निर्माणका लागि निर्माण कम्पनी छनोट तथा सम्झौता गर्न दुई महिना लाग्ने र त्यसपछि निर्माण कार्यले तीव्रता पाउनेछ।
दुवै पुल अस्थायी बनाइनेछ। ती पुल र सडक निर्माण गर्न १० करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ।
उक्त कार्य पूरा भए कम्तीमा पनि पाँच वर्ष सडक सुचारु हुने र त्यसपछि पुरानो सर्भेअनुसार सडकखण्डको निर्माण कार्य पूरा भएपछि करिडोरको सडक त्यसैमा जोडिनेछ।
छारेबाट ल्याप्चेसम्मको पूर्वपट्टिको क्षेत्र कडा चट्टानी भाग भएको र त्यसको पनि निर्माण जारी रहनेछ। करिडोरको सिमकोट सलीसल्ला खण्डको ५० किलोमिटर लम्बाइ छ।
त्यसमा ४० किलोमिटर सडक निर्माण पूरा भएको छ। करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्ला खण्डको ३९ किलोमिटर सडकको ट्याक खोल्ने कार्य नेपाली सेनाले पूरा गरिसकेको छ।
सेनाले सडकलाई सम्याउने र ग्याबिन वाल लगाउने कार्य गरी सडक विभागलाई हस्तान्तरणको तयारी गरिरहेको छ।
सो खण्डको कवाडीदेखि बालु कुनासम्मको २७ किलोमिटरमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन्।