
काठमाडौँ – नेपाली कांग्रेसले पूर्वीचितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको जनाएको छ।
९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा जंगलमा मृत भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्।
मुलुकका विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उनले यो प्रवृत्तिलाई निरुत्साहित गर्न तथा सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको जनाएका छन्।