
सिमकोट— कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही अचानक हुम्ला पुगेका छन्। हुम्ला आउनुको उद्देश्य नखुलाइए पनि उनीहरू दुवै जना शुक्रबार बेलुका हेलिकप्टरमा हुम्ला आएका हुन्।
मुख्यमन्त्री र कांग्रेस नेता शाही हुम्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभाको बैठक लगातार अवरुद्ध गरिरहेका बेला उनीहरू दुवै जना हुम्ला आएका छन्।
प्रदेशसभा बस्न नसकिरहेका बेला दुवै जना फ्रेसमेन्टका लागि आएका हुन सक्ने कांग्रेस र माओवादीका नेताले आकलन गरेका छन्। कार्यकर्ता त के प्रशासनलाई समेत उनीहरूको आगमनबारे जानकारी दिइएको थिएन।
यद्यपि, एक रात सिमकोटमा बसेर दुवै नेता मौसमले साथ दिए चीनसँगको सिमाना लाप्चा जान सक्ने बताइएको छ। कांग्रेस नेता शाहीले असोजमा सो सिमानाको स्थलगत अनुगमन गर्दा नेपाली भूमिमा चीनले एकतर्फी भौतिक संरचना निर्माण गरेको निष्कर्ष निकालेका थिए।
एक रात सिमकोट बस्ने गरी आएका मुख्यमन्त्री शाही र कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाही प्रदेश सभा अवरुद्ध रहेकै बेला हुम्ला आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सर्वोच्च अदालतले नेकपा अलग गरेपछि कर्णाली प्रदेशमा अल्पमतमा परेको शाही सरकारलाई कांग्रेसले समर्थन दिएर टिकाएको थियो। त्यसको करिब डेढ महिनापछि कांग्रेस पनि दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदै आएको छ।