
कस्ले हेर्यो मुख मिठ्याइ गाडी तिर आँखा
जानु पर्ला दोहोर्याइ हेर झाडी तिर आँखा।।
आफ्ना भन्ने लाखा पाखा साथ भर उनको
आरिसेले तरे उनी बस्ने राडी तिर आँखा।।
स्वाद बस्यो मापसेको जिब्रो चिलाइ हैरन
घाम डुब्नु भन्दा पहिले ताडी तिर आँखा।।
रोजगार कागतमा बिना ठेगान खलबल
काम खोज्न लाठेहरुको खाडी तिर आँखा।।
बेला छउन्जेल सधैँ जसो छेपाराको उखान
बेला घर्किए पछि हेर्छन् नाडी तिर आँखा।।
मौका पर्यो भनि बाँड्ने हात्ती मुखमा जिरा
छाप हान्छन् भन्ने आशले बाढी तिर आँखा।।
कोही देख्छन् झापा मात्रै कोही डँडेलधुरा
कोही हेर्छन् फेरि आउन माडी तिर आँखा।।
चुनाउ जुरे लाग्छ खर्च छाप किन्न ढ्वाङमा
कस्ले दिन्छन् चन्दा भन्दै ढाडी तिर आँखा।।
मान खाने भोक जाग्दा मुद्दा पर्यो ‘विष्णु’
पोल्टामा घान कस्को पर्छ हाँडी तिर आँखा।।