
सिमकोट– हुम्लामा कोरोना संक्रमितका गम्भीर बरामीको उपचार महँगो हुने गरेको छ। सडक यातायात नजोडिएको हुँदा बिरामीलाई हेलिकप्टर चार्टर गरेर उद्दार गर्नुपर्ने भएका कारण उपचार महँगो हुने गरेको हो।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले सडक यातायात नजोडिएकै कारण हुम्लामा जटिल केशका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएपछि उपचार महँगो हुने गरेको बताए।
सहायक प्रजिअ राईले चिकित्सक र स्वास्थ्यकर्मीसहितको हेलिकप्टरको व्यवस्था गर्नुपर्दा संक्रमितको उपचार खर्च आकाशिएको बताए।
यसमा कमजोर आर्थिक अवस्था भएका नागरिकको भने पहुँच छैन।
एउटा हेलिकप्टरमा एक जना मात्र कोरोना बिरामी बोक्नु पर्ने भएकोले काठमाडौँबाट हुम्ला र हुम्लाबाट काठमाडौँसम्मको दुईतर्फी भाडा साढे नौदेखि साढे दश लाखसम्म लाग्ने गरेको छ।
कोरोना संक्रमित भएर हेलिकोप्टरबाट उद्धार गरिएका स्वास्थ्यकर्मी सन्तोष धामीले सडक यातायाता नजोडिएको कारण उपचार महँगो भएको बताए। उनले काठमाडौँबाट हुम्ला र हुम्लाबाट जुम्लासम्मको हेलिकोप्टर चार्टरको भाडा साढे नौ लाख तिर्नुपरेको बताए। उपचार महँगो भएका कारण गम्भीर प्रकृतिका संक्रमितले उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको उनले गुनासो गरे।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार हुम्ला जिल्लामा सुरुमा दुई जना कोरोना संक्रमितको गत कात्तिकमा नाम्खा गाउँपालिकाबाट हेलिकोप्टरबाट उद्धार गरिएको थियो। त्यसपछि पुस २७ गते सिटिजन्स बैंकका कर्मचारीलाई कोरोना संक्रमण हुँदा अवस्था गम्भीर बनेपछि हेलिकप्टरमा उद्दार गरिएको थियो।
यस्तै वैशाख ३१ गते सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्धार गरिएको थियो। त्यसपछि असार २३ गते जिल्ला अस्पतालका विशेषज्ञ चिकित्सकको पनि हेलिकप्टरबाट उद्दार गरी काठमाडौँ लगिएको थियो।