
सिमकोट– हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ। कुहिरो लागेको र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो।
नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नवराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको जानकारी दिए।
यतिखेर एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने र पानी पर्ने भइरहेकोले नेपालगंज र सुर्खेतमा जहाजहरु सिमकोटका लागि उडान भर्न तयारी अवस्थामा रहेको भएपनि उडान हुन नसकेको हो।
सोमबारबाट नेपालगंज झर्ने तयारी गरिरहेकी यात्रु लछु फडेराले उडान नभएपछि सिमकोटमै रोकिनु परेको बताइन्। यात्रुहरु बिहानैबाट विमानस्थल गएको भएपनि उडान नभएपछि दिउँसो २ बजे घर फिर्ता भएका थिए।
हवाई सेवा अवरुद्ध भएपछि जिल्लामा भित्रिने ९० जना र जिल्ला बाहिर जाने ७८ जना यात्रु आफ्ना गन्तव्य जानबाट रोकिनु परेको छ। त्योसँगै खाद्यान्न, विकास निर्माणका सामाग्री र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन।
हवाई सेवा सुचारु नहुँदा तरकारी तथा मासुको पनि समस्या देखिएको छ। यसले विकासका काममा समेत बाधा पुर्याएको छ।
त्यसैगरि हवाई सेवा सुचारु नभएपछि राष्ट्रिय बाणिज्य बैंकका लागि नेपालगंजबाट आउनु पर्ने पैसा पनि आउन सकेको छैन। यसले बैंकलाई काम गर्न समस्या भएको छ। सिमकोटमा तारा, सीता र समिट एयरका जहाजहरुले दैनिक १५ भन्दा बढी उडान भर्दै आएका थिए।