
बुटवल – लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो।
लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भैआए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेको थियो।
बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए।
त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएकाले पारित नहुने बताएका थिए।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन्।