
काठमाडौँ – बिमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा आएको छ। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको शुक्रबार उद्घाटन गरेका हुन्।
कार्यक्रममा अध्यक्ष सिलवालले समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए। ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात् गर्दै यो चरणमा आइपुगेका हौँ,’ उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नै पर्छ।’
फिजिकली इन्टरफेसलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने भन्दै अध्यक्ष सिलवालले यसबाट समयको बचतसँगै इमान्दार व्यावसायिक प्रयास भएको बताए।
त्यस्तै, कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीसँग बिमा पटक–पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकाले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए।
अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भने, ‘बिमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरैभन्दा धेरै चलायमान बनाउनेछौँ।’
यो सूचना प्रविधिको जमाना भएकाले चाँडोभन्दा चाँडो जनतालाई सही जानकारी दिने उनको भनाइ छ।
बिमितहरूबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांक उपलब्ध गर्ने कार्य कठिन भएकाले समग्र बिमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालालाई काम छिटो, छरितो रूपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बिमा व्यवसायसँग सम्बद्ध बिमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ।
समितिमा अब कम्पनीले आफ्ना वित्तीय विवरणलगायत अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभई सफ्टवेयरबाटै अनलाइन माध्यमबाट तपसिलबमोजिम दैनिक, मासिक, त्रैमासिक, वार्षिक रूपमा पेस गर्न सक्नेछन्।