
सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ।
कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्।
अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए।
युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ खरिद मूल्यका उपकरण कार्यालयलाई सहयोगका रूपमा हस्तान्तरण गरिएको हो।
सहयोग उपलब्ध भएका उपकरणमा ३४ लाख मूल्य बराबरको डिजिटल एक्सरे मेसिन, हाई फ्लो नोजल क्यानुला, एबिजी मेसिन र अटो सेनिटाइजर छन्।
उनले विगतदेखि जिल्लाका गाउँपालिकामा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको प्रणालीले पहिलो पटक चिकित्सकको मागअनुसार जिल्ला अस्पताललाई उपकरण सहयोग उपलब्ध भएको बताए।
हस्तान्तरण कार्यक्रममा उपकरण बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उपकरण सहयोगले जिल्लामै उपचार गर्न सहज भएको जानकारी दिए।
उनले सहयोग उपलब्ध भएका उपकरणमा केही नयाँ पनि रहेको कारण अब बिरामीलाई उपकरण नभएकै कारण जिल्लाबाहिर उपचार गर्न रिफर गर्नुपर्ने बाध्यता हटेको बताए।
यसबाट अस्पतालमा एउटा मात्र एक्सरे मेसिन रहेको र त्यसमा प्राविधिक समस्या आएर बिरामीलाई एक्सरे गर्न जिल्लाबाहिर पठाउनुपर्ने समस्या समाधान भएको छ।
उक्त मेसिन उपलब्ध भएपछि विकल्प पनि जिल्लामै तय भएको छ। उपकरण सबै तत्काल सञ्चालनमा ल्याउन जडानसमेत गरिएका छन्।
प्रणालीका प्राविधिक अधिकृत कालिदास जोशीले दुर्गमका स्वास्थ्य संस्थालाई सामग्री तथा उपकरण सहयोग गर्ने कार्यक्रमअन्तर्गत अस्पतालमा बिरामीको उपचारमा देखिएको समस्या समाधान गर्न उपलब्ध गरिएको उल्लेख गरे।
यी सामग्रीको खरिदस्थलबाट ढुवानीको खर्च पनि कार्यक्रमले नै लागत व्यहोरेको छ। यो कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको छ।
यसका लागि कार्यक्रमले आठ करोड १५ लाखका उपकरण तथा सामग्री सहयोग गरेको जनाएको छ।