
संसारका सबैभन्दा धनी जेफ बेजोसले आफ्नो रकेट कम्पनी ब्लू ओरिजिनलाई चन्द्रयात्रामा फेरि अघि बढाउन नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन्।
बेजोसले सोमबार नासाका प्रशासक बिल नेल्सनलाई खुला पत्र लेख्दै अमेरिकी अन्तरिक्ष एजेन्सीका लागि उक्त रकम व्यहोर्न तयार रहेको बताएका हुन्।
उनले आफ्नो प्रस्तावबाट ब्लू ओरिजिनको अन्तरिक्ष यान बनाउने सम्झौता पुनर्विचार गरिने अपेक्षा गरेका छन्। आफ्नो अभियानबाट अन्तरिक्ष यात्रीहरु चन्द्रमामा जानसक्ने उनको भनाइ छ।
बेजोसको उक्त प्रस्ताव अन्तरिक्ष यान निर्माणका लागि नासाले स्पेसएक्सलाई छनौट गरेको केही महिनापछि आएको छ। उक्त सम्झौता २.९ बिलियन डलरमा भएको थियो।
नासाले अन्तरिक्ष यान निर्माणका लागि कम्तिमा दुई वटा निजी कम्पनीहरुबीच प्रतिस्पर्धा गराउने उद्देश्य लिएको थियो।