
मनाङ – असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले जिल्लामा धेरै भौतिक क्षति भएको छ। यहाँका अधिकांश बस्ती विस्थापित भएका छन्। बाढीपहिरोका कारण प्रहरीचौकी नै पूर्णरूपमा विस्थापित भएको छ।
बाढीपहिरोले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरी चौकी धारापानीको भवन बगाएपछि पूर्णरूपमा सो चौकी विस्थापित भएको छ। बाढीपहिरोले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरी चौकी धारापानीका इन्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए।
जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए। साथै, भवनमा रहेका अन्न, खाद्यान्नलगायत सामग्री भने जोगाउन नसकिएको उनी बताउँछन्।
अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए। मर्स्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पुर्याएको छ।
केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए। लमजुङ बेंसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ।