
लफङ्गा पनि स्तुति गाएर ठूला भए
बेलुका बिहान दैलामा धाएर ठूला भए।।
अहिले त आ–आफै मपाईँ भन्न थाले
उहिलेका जन जनमा छाएर ठूला भए।।
चियो चर्चाका कन्सुत्ला यहाँ कति कति
यताका कुरा कता कता लाएर ठूला भए।।
झुटो बिक्छ बजारमा किनबेचका लस्कर
कोही कोही साँचो लेख्ने शायर ठूला भए।।
खुशी तुल्याए ढाड कन्याइ बेला बेलामा
मान सम्मान दाइजोमा पाएर ठूला भए।।
ठूला हुन तँछाड मछाड पम्पु तानातान
हावा कोचेर फुलाएका टायर ठूला भए।।
टुक्रा हराउँदा देशको खोजमेल नास्ती
पद थाम्न चुप बस्ने कायर ठूला भए।।
भोकै थिए दाम्रो पेटमा निकै साल ढुके
डाडु पन्यौ हुँदा हातमा खाएर ठूला भए।।