
काठमाडौँ– छोरीलाई दुध खुवाउँदै दैलोमा बसेर बट्टाइका लागि दाना केलाउँदै थिइन्, अनिता श्रेष्ठ। छेउमै मुढामा बसेका उनका आठ वर्षीय छोरा आमालाई थरीथरीका प्रश्न गरिरहेका थिए। अनिता दाना केलाउँदै हाँस्दै छोराका प्रश्नको जवाफ दिइरहेकी थिइन्।
अरुले साथ छोडे। छोराछोरी नै उनको बाँच्ने आधार बनेका छन्। उनीहरुका लागि उनले कठिन संघर्ष गरिरहेकी छन्।
श्रीमान् र परिवारले उनको साथ छोडेको करिब डेढ वर्ष भयो। ‘म आफ्नो बच्चाको सुरक्षाका लागि टाढा भएकी हुँ। सँगै भएको भए उहाँले म र मेरो बच्चालाई मारिसक्नुहुन्थ्यो,’ उनले भनिन्।
श्रीमान्ले आफूलाई दैनिक कुटपिट र झगडा गर्ने गरेको अनिता बताउँछिन्।
कलिलै उमेर (१५ वर्ष) मा बिहे गरेकी अनिताको वैवाहिक जीवन भने सुखद रहेन। सासुको मृत्युपछि उनका दुःखका दिन सुरु भए। अनिताले विगत सम्झिँदै भनिन्, ‘मेरो सासुले मलाई धेरै माया गर्नुहुन्थ्यो नि। सासु पनि मर्नु भयो। ससुराले अर्को विहे गर्नुभयो। कान्छी सासुले हेला गर्ने, खाना नदिने, झगडा हुन थाल्यो। त्यसपछि मेरो श्रीमान्ले पनि कान्छी आमाको र बाबाको कुरा सुन्न थाले।’
अनितालाई कुट्ने, झगडा गर्ने उनका श्रीमान्को दिनचर्या नै बन्यो।
‘मेरो हाँसिखुसी परिवार कहिलै भएन। दुःखै–दुःख मात्र भयो,’ उनी भन्छिन्, ‘जहिले रक्सी खाएर आउने मलाई कुट्ने।’
अनिताको पनि कुटाई खाने दैनिकी बन्यो। यसैबीच उनी गर्भवती भइन्। गर्भवती भए पनि श्रीमान्को अत्याचार रोकिएन।
५ महिना बित्यो। अत्याचार उस्तै। काखमा दुध खुवाइरहेकी छोरीलाई संकेत गर्दै अनिताले भनिन्, ‘नानी ५ महिनाको पेटमा थिई। यसको बाबाले मसँग झगडा गरेर लात्तै–लात्ताले पेटमा हान्यो। म त झण्डै मरेन। मैले त बच्चा गयो होला सोचेँ। छिमेकी दिदीहरुले देखेछन्। उनीहरुले पुलिस बोलाए र पुलिसले उसको बाबालाई लग्यो। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। मलाई दिदीहरुले हेल्थ पोस्ट लानुभयो। त्यहाँ एक दिन राखियो। धन्न मेरो बच्चा सुरक्षित रैछ।’
आफू हेल्थ पोस्टबाट फर्केपछि सोझै पुलिस चौकी पुगिन्। पुलिस चौकीमा उनका श्रीमान् थिए।
उनलाई प्रहरीले भने, ‘हेर तिमी योसँग बस्दै नबस। बस्यो भने यसले तिमीलाई मार्छ। तिम्रो बच्चालाई पनि मार्छ। सधैँ यस्तै अत्याचार गर्ने हो। हामीले पनि कति समातेर ल्याउने?’
हुन पनि अनिताका श्रीमान् दैनिकजसो कुटपिटकै केसमा जेल पुग्थे। प्रहरीको फन्दामा पर्दा पनि उनको अत्याचार रोकिएन। धेरै नै गाह्रो भएपछि अनिताले छुट्टिने सोच बनाइन्।
उनलाई लाग्यो, ‘धेरै गाह्रो भएपछि मैले अब योसँग बस्न सक्दिनँ। यसरी यो जीवन कट्दैन, यसले मार्छ। यो कहिले सुध्रिदैन। यस्तो अवस्थामा न त म झगडा गर्न सक्छु। भ्याट्ट हानेर मारदियो भने मेरो बच्चालाई कसले हेर्छ। बच्चाकै लागि भए पनि म सुरक्षित ठाँउमा गएर बस्नु पर्छ।’
त्यसपछि अनिता आफूले पहिले काम गरेको संस्थामा गइन्। आफूमाथि भएको सबै अत्याचार बेली विस्तारमा बताइन्।
‘पहिला मैले संस्थामा काम गरेको थिएँ। त्यही संस्थामा गएर हेल्प मागेँ। मेरो बच्चाको लागि भए पनि तपाईंहरुले सहयोग गरिदिनू भनेँ,’ अनिताले सुनाइन्।
अनिताले आफूले काम गरेका दिन सम्झिँदै भनिन्, ‘पहिले हामीले अत्याचार खेपिरहेका महिलाका लागि काम गर्थ्यौँ। तर आज आफ्नो लागि आवाज उठाउनु परेको छ।’
…
अनिता गर्भवती थिइन्। उनको ‘डेलिभरी’ को समय पनि नजिक आइसकेको थियो। ‘काजल’ संस्थामा नै उनी थिइन्। उनलाई बेथा लागेपछि संस्थाका मान्छेहरुले थापाथली अस्पताल पुर्याए।
‘म्यामहरुले मलाई थापाथली अस्पताल पुर्याउनु भयो। अस्पतालमा अपरेशनका लागि कागज गर्न परिवार चाहिन्छ भन्नुभयो डाक्टरहरुले। संस्थाका म्यामहरुले मेरो परिवारलाई बोलाए र मेरो श्रीमान् र ससुरा आउनुभयो,’ उनले भनिन्, ‘तर रक्सी खाएर। डाक्टरहरुसँग धेरै नराम्रो शब्द बोल्यो। त्यो बेला निकै चित्त दुख्यो। तर कागज भने बनाए। त्यसपछि अपरेशन गरेपछि छोरी जन्मिन्।’
अनितालाई केही गर्न नसकेपछि भर्खर जन्मेकी नवजात शिशु (छोरी)लाई चोर्न अस्पताल आए। ‘छोरीलाई चोरेर लान थालेको मैले थाहा पाएँ। मैले उसको कुरा सुनेको थिएँ,’ उनले भनिन्, ‘बच्चा बेच्ने कुरा अरुसँग कुरा गर्न लागेको मैले सुनेँ।’
अनिताले सो कुरा डाक्टर तथा संस्थाका मान्छेलाई बताइन्। उनले आफ्नो छोरीलाई बचाइदिन उनीहरुसँग बिन्ती गरिन्।
उनको अवस्था देखेर अस्पतालकी नर्स संगीतालाई असह्यै भएछ जसका कारणले अनिताका श्रीमानलाई ‘गाली’ गरिछन्।
अनिताले भनिन्, ‘संगीता नर्स दिदीले यसको बाबाको गालामा झ्याम्म हान्नु भयो। के हो तेरो तमिज छैन? तेरो बुढीलाई यहाँ जे पायो त्यही गर्न पाउँछ सोचेको तैले? यस्तो सुत्केरी छ। अझ लाज लाग्दैन?’
उनीहरुबीच चर्काचर्की भएपछि डाक्टरहरु आए र के भएको भनेर सोध्दा अनिताले आफूमाथि भएको अत्याचार सुनाउँदै डाक्टरहरुलाई भनिन्, ‘यसले मलाई धेरै दुःख दियो। परिवारले घरबाट निकाल्यो। यति मात्र होइन यसले आगो पनि लगाइदियो। मेरो कपालै जल्यो। झण्डै मरिनँ म।’
उनले ढाडसम्म हात लगाउँदै भनिन्, ‘यहाँसम्म थियो नि मेरो कपाल। आगो लगाएर अहिले सानो छ। यति नि आजभोलि भएको हो।’
त्यसपछि डाक्टरले बाहिर निस्केर पुलिसलाई फोन गर्दैगर्दा डाक्टरलाई हुत्याएर आफ्नो श्रीमान् अस्पतालबाट भागेको अनिता बताउँछिन्।
…
सो घटना भएको केही दिनपछि अनिताका श्रीमान् उनी बस्ने संस्था काजल नेपालमा आए। आउँदा उनी निकै भलादमी भएर आएको अनिता बताउँछिन्।
‘पुलिस साथीसँग कन्ट्याक गरेर म बस्ने संस्थामा आउनुभयो। त्यहाँ आउँदो सोझो भएर आउनुभयो’, उनले भनिन्, ‘संस्थामा म्यामहरुलाई म आफ्नो श्रीमती लान्छु। अब केही गर्दिनँ। अलगै कोठा लिएर राख्छु। कसैको कुरा सुन्दिन। राम्रोसँग राख्छु भनेर रिक्वेष्ट गर्नुभयो। र म्यामहरुले पनि उसले केही गर्दिन भनेको छ। के गछौँ जान्छौँ भनेर सोध्नुभयो। मलाई जान मन त थिएन। फेरि पनि त्यस्तै गर्छ दिदी यसको मुख मात्र हो, मलाई मार्छ यसले भनेर भनेँ। हैन अबदेखि गर्दिनँ भनेको छ। कागज बनाइदिन्छु। कागज गराउँदा पनि केही गर्यो भने मलाई फोन गर। म तुरुन्तै आउँछु भन्नुभयो। सधै भरी संस्थामा बसेर पनि उँभो लाग्दैन। हुन्छ जान्छु भनेँ। त्यसपछि कागज गर्यौँ। र म श्रीमान्सँग गएँ।’
उनका श्रीमान्ले आफूले भने जस्तै गरे। नागढुंगामा कोठा भाडामा लिएर उनलाई राखे। आफू काममा जाने र अनिता घरको काममा व्यस्त। ‘संस्थाबाट आइसकेपछि राम्रो गर्यो। आफू काममा जाने। म घरको काम गर्थेँ,’ उनले भनिन्, ‘गाडी चलाउने काम छोडिसकेको थियो। इनारको काम गर्यो। दुवै मिलेर काम गर्थ्यौँ। रमाइलो भइरहेको थियो।’
दुईचार दिनपछि श्रीमान्ले पुरानै लय समात्यो।। बाआमासँग सम्पर्क भएपछि श्रीमान्ले कुट्न सुरु गरेको अनिताले बताइन्। ‘फेरि कुट्न थाल्यो। जहिले झगडा। सहेर बसेकै थिएँ,’ उनले भनिन्।
एकदिन अनिताका श्रीमान्को पैसाका कारणले साथीहरुसँग झगडा पर्यो। सो झगडामा साथीहरुले उनको टाउको फुटाएको अनिता बताउँछिन्। भन्छिन्, ‘अस्पताल लान एक रुपैयाँ थिएन। मैले एक जना पुलिस दाइ मानेको थिएँ। उहाँलाई गुहारे। उहाँहरुले सहयोग गर्नुभयो। श्रीमान्लाई वीर अस्पताल पुर्यायौँ। चिट काट्नेसमेत पैसा थिएन। त्यहाँको पुलिसले नै चिट काट्नु भयो।’
तर अनितासँग बाँकी उपचारका लागि पैसा थिएन। दिनहुँ अत्याचार गर्ने श्रीमान्को ज्यान जोगाउन डाक्टरहरुसँग हारगुहार गरिन्। डाक्टरहरुले पनि सकेजति सहयोग गरे।
‘डाक्टरहरुले धेरै सहयोग गर्नुभयो। उहाँहरुले अस्पतालमा भएको औषधिले काम चल्नेसम्म चलाए। तर अस्पतालमा नभएको औषधि ल्याउन भन्नुभयो,’ उनले अतीत सम्झिँदै भनिन्, ‘के गर्नु आफूसँग एक रुपैयाँ थिएन।’
उनी चिन्तित थिइन्।
वीर अस्पतालमा सहयोग गर्न आउनेले उनलाई पनि सहयोग गरे। उनलाई केही राहत भयो।
उनका श्रीमान्को उपचार भइरहेको थियो। त्यसपछि उनले श्रीमानकै उपचारका लागि दुधे बच्चा काखमा च्यापेर सुन्धारा, जमलका पसलहरुमा पैसा मागिन् र उपचार गरिन्। करिब १२ दिनपछि उनका श्रीमान्लाई डाक्टरले अस्पतालबाट डिस्चार्ज दिए।
श्रीमान्को हेरचारदेखि घर चलाउनेसम्म जिम्मेवारी उनको काँधमा आयो। उनले आफ्नो जिम्मेवारी निर्वाह गरिन्।
तर उनका श्रीमान् जिम्मेवारी निर्वाह गर्न सधैँझैँ यतिबेला पनि चुके। निको भएपछि उनका अनितालाई फेरि कुटपिट गर्न थाले।
उनले पुनः छुट्टिने सोच बनाइन्। अब उनलाई कहाँ जाने के गर्ने भयो। ‘नानी पनि सानै छ। टेन्सन भयो। त्यही संस्थामा जाउँ भने यसले देखेको छ। फेरि पनि त्यहाँ आएर नराम्रो गर्छ। त्यसपछि म पुलिस थानामा गएँ,’ उनले भनिन्।
प्रहरीसँग उनले सबै कुरा भनिन्। प्रहरीले आफूले चिनेको ठाँउमा आफ्ना लागि कुरा गरिदिएको अनिताले बताइन्।
‘चिनेको ठाउँमा उहाँहरुले कन्ट्याक गर्नुभयो। ‘थ्री ह्याण्डस कोइल (बट्टाई) फार्म’ ल्याउनु भयो। मेरो बच्चालाई र मलाई धेरै सहयोग भयो सुरक्षा भयो। सीप सिकाए। फेल्ट (भेडाको उनबाट बनाउने सामान) बनाउन सिकेको छु,’ उनले भनिन्।
सानो बच्चा भएकाले धेरै काम गर्न नपाए पनि बच्चा सुतेको बेलाका काम गर्ने गरेको अनिताले बताइन्। अहिले उनको जीवन राम्रोसँग चलिरहेको छ।
उनी थ्री ह्याण्ड कोइल फार्ममा काम गर्नुअघि डिडिसी होममा करिव १ वर्ष बसिन्। कोइल फार्ममा आएको करिब एक महिना मात्र भएको अनिता बताउँछिन्। ‘अहिले आफू कमाउने भएको छु। आफ्नो छोराछोरीलाई राम्रो बाटो देखाउँछु,’ उनले भनिन्।
छोरालाई आर्मी र छोरीलाई वकिल बनाउने उनको सपना छ। ‘सानीलाई वकिल बनाउने इच्छा छ। किनभने जो दुःखी गरिबसँग पैसा हुँदैन नि, उहाँहरुको केश सित्तैमा लड्छ। पैसा सबै थोक होइन। आशिष दिए पनि लाग्छ। छोरोको भने आर्मी बन्ने इच्छा छ। छोरोले आर्मी बन्छु हजुरलाई पाल्छु भन्छ। जहिले आर्मी मात्र बन्छु भन्छ।’
अनिताको छोरो ८ वर्ष र छोरी डेढ वर्षकी भइन्।
अनिताले पैसा नभएर अहिलेसम्म छोरोलाई स्कुल भर्ना नगरेको बताइन्। ‘अहिले छोरो डिडिसी होममा ट्युसन लिँदैछ। स्कुलहरु खुलेपछि यही नजिकैको सरकारी स्कुलमा भर्ना गर्छु। त्यहाँ पनि के कति लिन्छ बुझेर भर्ना गर्छु,’ उनले भनिन्।
अहिले उनले बट्टाइको हेरचाह गर्छिन्। यसबापत उनले महिनाको १२ हजार पाउँछिन्। सो रकम उनले भाडा, रासन, लत्ताकपडा लगायतलाई पुर्याउनु पर्छ।
उनले भनिन्, ‘यो पैसाले पुग्दैन। तर केही नहुनु भन्दा हुनु धेरै राम्रो हो। विस्तारै तलब बढाइदिन्छु भन्नुभएको छ। बस्ने व्यवस्था पनि राम्रो छ। सबैभन्दा ठूलो कुरा हामी सुरक्षित छौँ।’
अनिताको आफ्ना बच्चाहरुलाई पढाउने मन छ। तर स्कुल भर्ना गर्ने चिन्ताले अनितालाई पिरोलिरहन्छ।
‘स्कुलमा भर्ना गर्न जन्म दर्ता चाहिन्छ रे। त्यो पनि छैन। केही दिन चाहिँदैन भनेको छ। तर पछि चाहिन्छ रे’, उनले भनिन्, ‘कागजात बनाउन फेरि यसको बाउलाई भेट्नु पर्छ। तर अहिले कहाँ छ, केही थाहा छैन। कति खोजेँ, केही पत्ता लागेको छैन।’
आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने उनी बताउँछिन्। २३ वर्षकी अनिताले अनाथ भएकाले पढ्न–लेख्न पाइनन्। त्यसैले उनी आफ्नो बच्चालाई पढाएर ठूलो मान्छे बनाउन चाहन्छिन्।