
बुटवल – नेपालले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा मंगलबार पाल्पामा भगवती जात्रा मनाइँदैछ। पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हाँसिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर विजयोत्सवका रुपमा भगवती जात्रा मनाइँदै आएको छ।
२०३ औँ भगवती रथजात्रा भने धुमधामका साथ नमनाएर सामान्य औपचारिक पूजामात्रै गर्ने रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। कोरोना महामारीका कारण सीमित संख्यामा मात्रै उपस्थित भएर जात्राको औपचारिकता पूरा गर्ने उनले बताए।
‘महामारीका कारण गतवर्ष पनि जात्रा धुमधामले मनाउन पाइएन, यसपटक पनि त्यस्तै भयो’, उनले भने, ‘यो खुशीयालीको अवसरलाई अर्को वर्ष धुमधामले मनाउन पाइने आशा छ।’
बिहान ११ बजेपछि शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरि तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरभित्रै रथ परिक्रमा गर्ने उनले बताए। स्वास्थ्यका मापदण्ड पालना गर्दै नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराउने र जात्रा विसर्जन गर्ने उनले बताए।
२०३ वर्षअघिदेखि मनाइँदै आएको यो जात्रालाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ। जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ।
घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए।
दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ।