
काठमाडौँ – साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बिहीबार भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।
साफका उपाधि दाबेदार दुई देशबिचको यो खेललाई तयारी र दुवै टिमको वर्तमान अवस्था प्रस्तुत गर्ने खेलका रुपमा हेरिएको छ ।
खेल बेलुका साढे पाँच बजेपछि त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा हुने छ । नेपाली टोलीले आउँदो आइतबार पनि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
फुटबलमा भारत नेपालको चिरप्रतिद्वन्द्वी हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली आत्मविश्वाससहित तयारी अवस्थामा रहेको जनाइन्छ ।

नेपाली टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरी । तस्बिर : बर्षा शाह/देश सञ्चार
बुधबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूहरु बराबरीका लागि नभई जितका लागि खेल्ने बताएका थिए । यस्तै कप्तान किरण चेमजोङले पनि आफूहरुको आत्मविश्वास बलियो रहेको बताएका छन् ।
नेपालले भारतमाथि जित दर्ता नगरेको झण्डै ८ वर्ष पुगेको छ । पछिल्लोपटक सन् २०१३ मा साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो ।
मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आएको यो पहिलोपटक हो । यसअघिका तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु भारतमै भएका थिए । सन् २०१३ मा सिलिगुढी, सन् २०१५ मा पुना र सन् २०१७ मा मुम्बईमा मैत्रीपूर्ण खेल भएका थिए ।
बिहीबार हुने मैत्रीपूर्ण खेल नेपाली टोलीले घरेलु दर्शकसामु खेल्न पाउने छ । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका वा संक्रमण नरहेको देखाउने पिसिआर रिपोर्टसहितका पाँच हजार एक सय दर्शकले रंगशालामा गएर खेल हेर्न पाउने छन् ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री। तस्बिर : बर्षा शाह/देश सञ्चार