
हुम्ला – पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी सद्गुरु फिर्ता भएका छन्। दर्शनपछि लिमीको तुम्लिङ रहेका उनी बिहीबार बिहान हेलिकप्टरबाट सिमकोट फिर्ता भई नेपालगञ्जतर्फ लागेका हुन्।
सिमकोट बिमानस्थलमा हेलिकोप्टरबाट पुगेपछि सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए। उनले पैदल मार्गका लागि यात्रा गर्न सडक पूर्वाधारको विकास गर्न आवश्यक सुझाव दिए।
उनी सिमकोट पुगेसँगै हवाईजहाजमा नेपालगञ्जतर्फ लागेका थिए। पर्यटन व्यवसायी विजय लामाले लक्ष्य पूरा गरेर सद्गुरु फिर्ता भएको बताए।
उनका अनुसार सद्गुरुले लाप्चाबाट मानसरोवर कैलाशको पैदल र हेलिकोप्टरबाट दर्शन गरेका थिए । लिमीको तुम्लिङमा तीन रात बिताएका गुरुले लाप्चा क्षेत्रबाट मंगलबार पैदल र बुधबार हेलिकोप्टरबाट दर्शन गरेका थिए।
भदौ ९ गते काठमाडौंबाट नेपालगञ्ज हुँदै सिमकोट आएका उनी १० गते पैदल मार्गबाट लाप्चातर्फ लागेका थिए। ११ दिने यात्रा तय भए पनि गुरुको टोली नौ दिनमै दर्शन गरेर सिमकोट फिर्ता भएको छ।
एक दिनमा चार वटा हेलिकोप्टरले लाप्चाका लागि १५ भन्दा बढी उडान भरेका थिए। यात्राप्रति निकै सन्तुष्ट रहेका गुरुले सिमकोट विमानस्थलमा यात्रा फलदायी भएको बताए। उनीसँग ४९ जना विभिन्न देशका एनआरएन र ५५ जना नेपाली पर्यटन व्यवसायी संलग्न थिए।
सिमकोट विमानस्थलमा हेलिकोप्टरबाट झर्दै सद्गुरु ।