देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल
+
-

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन सुरु भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशन भइसकेका ५६ जिल्लामध्ये अधिकांशमा शुक्रबार वडा अधिवेशन भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता–कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडामा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडामा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशन हुँदै जाने र भदौ २७ गते निर्धारित गाउँ, नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ, नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ।

यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय एक पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। यसबाहेक मनोनीत हुनेको संख्या थप रहेको छ।

त्यस्तै, देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। महाधिवेशनअन्तर्गत गाउँ, नगर वडा अधिवेशन शुक्रबार गाउँ, नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ।

यसैगरी, कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ।

मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ। यसअघि कांग्रेसको १३औँ महाधिवेशन ०७२ साल फागुनमा सम्पन्न भएको थियो।

वडा अधिवेशनमा नेताहरूको शुभकामना

वडा अधिवेशनका अवसरमा शुक्रबार कांग्रेस नेताहरूले विभिन्न सन्देश जारी गर्दै शुभकामना दिएका छन्। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले भिडियो सन्देश जारी गरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउँदै स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन्।

लोकतन्त्रको पर्यायका रूपमा रहेको पार्टी कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी साबित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताए।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच सुरु गर्नुपरेको महाधिवेशनमा सामाजिक दूरी कायम गरी सहभागी हुन अनुरोधसमेत गरेका छन्।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषमपरिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन्। लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सबल नेतृत्व आवश्यक रहेको भन्दै उनले आत्माको पुकार सुनेर निर्णय गर्न आमनेता–कार्यकतालाई आग्रहसमेत गरेका छन्।

महामन्त्री डा शंशांक कोइरालाले पार्टीको वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउँदै आपसी एकता र विश्वासमा आधारित कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताएका छन्।

उनले वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको श्रीगणेश भएको उल्लेख गरेका छन्।

अर्का महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रादेशिक र केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत पार्टीका सबै तहको संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको बताए।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएको भन्दै वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताए।

उनले लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने र आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताएका छन्।

उनले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएको भन्दै निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडले महाधिवेशनले आपसी सद्भाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको बताउँदै वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधीनता, संघीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

मुलुकको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, संघीयता, गणतन्त्रजस्ता अत्यावश्यक विषयलाई दृष्टिगत गर्दै अगाडि बढ्नु हुनेछ भन्ने विश्वासका साथ उनले पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबैलाई शुभकामना दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?