
झरीले उर्लिए कुला आजभोलि
साना थिए जो ठूला आजभोलि।।
झिँजा बटुले पकाइ खान मिठो
बलेका निभ्दै चुला आजभोलि।।
उहिले तौलिँदा बराबरी हुन्थ्यो
कपटी भएछन् तुला आजभोलि।।
शुरवीर ठान्ने देश हाँक्छु भन्थे
गोडा भएछन् लुला आजभोलि।।
बलिया भनि छाति फुलाइ हिँड्थे
खोज्दैछन् लुक्ने दुला आजभोलि।।
सपना देखाए जान ठाउँमा आफू
विपना भएछन् धुला आजभोलि।।
आसेपासे आफ्नै पोका खुब पार्छन्
आँखामा परेछन् फुला आजभोलि।।
माटो सुहाउँदो खेती हुन्थ्यो पहिले
बजार भरि विदेशी मुला आजभोलि।।
छेउटुप्पो लुकाइ कुना पसि खान्थे
देखाएर चपाउन खुला आजभोलि।।