
तीज हिन्दु नारीहरुले मनाउने महत्वपूर्ण चाड हो। नेपाली हिन्दु नारीहरुले बिहीबार तीज मनाउँदैछन्।
तीजमा विशेषगरी विवाहित महिलाहरुले आफ्ना श्रीमान्को सु–स्वास्थ्य तथा दीर्घायुको लागि व्रत बस्छन् भने अविवाहित युवतीहरु राम्रो श्रीमान् मिलोस् भन्ने कामनाका साथ व्रत बस्छन् भन्ने मान्यता रहेको छ।
तर पछिल्लो समय तीज भड्किलो बन्दै गएको र विकृतीहरु देखिएको टिप्पणीहरु सुनिन्छन्।
यसैबीच कलाकार दिपाश्री निरौलाले देश सञ्चारसँग आफ्नो बाल्यकालीन तीजको अनुभव साट्दै फेरिएको तीजबारे आफ्नो धारणा राखेकी छन्ः-
तीज त लाग्नु नै पर्यो। पोहोर साल पनि मनाउन पाइएन। यसपालि चाहिँ अलिअलि लागेको छ। पहिला–पहिला मनाएकोजस्तो चाहिँ अलि छैन।
यो चाडपर्व भन्ने कुरा अर्काको काँधमा बुइ चढेर खेल्दा मजा आउँछ। आफ्नो काँधमा उत्तरदायित्व वहन गर्दा चाहिँ सबै कुरा तारतम्य मिलाउनुपर्छ जस्तो लाग्छ, तर पनि पछि चाहिँ के लाग्दो रहेछ भने बालापनको तीजहरु, दर खाने चलन, राती उठेर आमाले घच्घच्याएर दर खुवाएको याद आउँछ।
मेरी आमाले मनाउने तीज बिल्कुलै निराहार बसेर अनि विहानदेखि बेलुकासम्म बुवाको मात्रै साधना गरेर बुवालाई त्यो दिन कहीँ जान नदिएर तपाईं मेरै अगाडि मात्र बसिरनु भन्ने खालको, त्यो माया थियो। अहिले चाहिँ दायाँबायाँ सबैतिर हिँडिन्छ।
अहिले अर्कै खालको तीज भयो। परिवर्तनशील समाज, समाज परिवर्तन त गर्नैपर्छ। त्यसकारणले गर्दा परिवर्तनका नाममा हामीले भड्किलो तीज पो गर्न भएन त तर रमाइलो तीज त गर्न पाइयो नी।
यो भड्किलोपन त कुनै क्षेत्रमा पनि राम्रो होइन। भरसक जिन्दगीमा ताली नै खाऊँ न। किन गाली खानु भड्किलो भइ चाडवाड मनाएर।
भिडियो हेर्नुहोस्ः