
काठमाडौँ– नेपाली हिन्दूहरुको महान् चाड दसैँ नजिकिँदै गर्दा मानिसहरु किनमेलमा व्यस्त छन्। दसैँका लागि किनमेल गर्दा नछुटाउने वस्तु हुन्– ल्वाङ, सुकुमेल, दालचिनी, मरिचलगायत मसला।
उसो त अरु बेला पनि मानिसहरुले यी मसलाहरु खरिद गर्छन्, तर चाडबाडमा बेसी। किनभने यस अवधिमा घरमा पाहुना बढी हुने र मासुलगायतका अन्य परिकार धेरै पाक्छन् घर–घरमा। जसका कारणले यी मसलाहरुको खपत अरु बेलाभन्दा बढी हुन्छ।
अरु बेला सुकेका मसला थोरै खरिद गरे पनि दसैँ–तिहारमा धेरै किन्ने गरेको ललितपुरको भैंसेपाटीका खुद्रा व्यापारी कल्याण तामाङ बताउँछन्। चाडपर्वमा सामान्य दिनभन्दा राम्रो व्यापार हुने उनी बताउँछन्। उनले भने, ‘अब दसैँको महिना सुरु भयो। विस्तारै व्यापार हुन्छ।’
कोभिडका कारणले लामो समय बन्द रहे पनि अहिले सरकारले बजार खुला गरिसकेका कारणले व्यापार राम्रो हुने उनको अपेक्षा छ।
‘अरु बेला पनि व्यापार राम्रो हुन्छ। बन्दले केही प्रभाव पार्यो’, उनले भने, ‘अब चाडपर्वको माहोल सुरु हुँदैछ। दसैँ–तिहारमा मान्छे धेरै हुने र खानाहरु पनि धेरै पाक्ने भएकाले सुख्खा मसला धेरै जान्छ। व्यापार पनि राम्रो हुन्छ।’
व्यापार राम्रो भए पनि महँगो भएकाले समस्या हुने गरेको उनी बताउँछन्। महँगीका कारण जति बेला पनि र जसले पनि किन्न सक्ने अवस्था नरहेको उनले गुनासो गरे।
‘६/७ महिना अगाडि सुकुमेलको मूल्य प्रतिकेजी १२ हजार रुपैयाँ थियो। अहिले त भाउ निकै घटेको छ’, उनले भने, ‘अहिले ४ हजार रुपैयाँ केजी भएको छ। अब दसैँतिर बढ्न सक्छ कि!’
कोरोना भाइरसका कारणले बजारमा खाद्यान्नको मूल्य बढिरहेको उनको भनाइ छ। ‘यस्ता मसलाको भाउ अरुभन्दा बढी नै हुन्छ। तर लकडाउनका बेला धेरै महँगो भएको थियो। अहिले घटेकै छ’, उनले भने।
अहिले बजारमा तेलदेखि लिएर भान्सामा चाहिने हरेक वस्तुको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार कोभिडका कारणले मूल्य बढेको हो। होलसेलबाटै महँगो भएका कारणले खुद्रा व्यापारीहरुले पनि महँगोमा बेच्नुपरेको व्यापार संघले जानकारी दिएको छ।
महँगो भए पनि उपभोक्ताहरुले चाडवाडका बेला मसलालगायतका अन्य खाद्यवस्तु खरिद गरेकै हुन्छन्।
बजार पूर्ण रुपमा खुलिसकेका कारण अब केही सस्तो हुने अपेक्षा उपभोक्ताको छ। यस्तै दसैँ–तिहारका लागि भनेर ल्वाङ, सुकुमेल, दालचिनीलगायतका मसलाहरु आयात नहुने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
उनका अनुसार दसैँ–तिहारमा खपत बढी हुने भए पनि सामान्य तरिकाले नै आयात हुने उनको भनाइ छ। ‘दसैँ–तिहारमा अरु बेलाभन्दा बढी खपत हुन्छ’, उनले भने, ‘तर चाडपर्वकै लागि लक्ष्य गरेर आयात हुँदैन’, उनले भने। उनले मागअनुसार नै आपूर्ति हुने जानकारी दिए।
चालु आर्थिक २०७८/०७९ को पहिलो महिना (साउन) मा सुकुमेल २ करोड ४८ लाख ४४ हजार ४ सय १५ रुपैयाँको १६ हजार ८ सय २९ केजी आयात भएको भन्सार विभागको तथ्यांक छ।
गत आर्थिक वर्षको सोही महिनामा १ करोड ९ लाख ३२ हजार ३ सय ३९ रुपैयाँको ८ हजार ७५ केजी सुकुमेल आयात भएको थियो।
यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा मरिच ५० करोड १६ लाख ९९ हजार ६ सय ४८ रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ।
यस्तै सोही अवधिमा सुकेको खुर्सानी १३ करोड २५ लाख ८० हजार ५ सय ९२ रुपैयाँ, दालचिनी ६३ लाख ८९ हजार ४ सय ८१ रुपैयाँ, ल्वाङ १ करोड ७५ लाख ४२ हजार ८ सय २३ रुपैयाँ, जाइफल ७२ लाख ८७ हजार ५३ रुपैयाँ, धनियाँ ४ करोड ९६ लाख ३५ हजार ५ सय १० रुपैयाँ, जिरा २३ करोड ७९ लाख ९४ हजार ६ सय ४४ रुपैयाँ र सुप ६९ लाख ४३ हजार १ सय ६० रुपैयाँ बराबरको आयात भएको छ।
यसैगरी सुकेको अदुवा १ करोड २६ लाख ५६ हजार ८ सय ८० रुपैयाँ, केसर १० लाख ३७ हजार १ सय ५७ रुपैयाँ, बेसार २ करोड ९२ लाख २६ हजार ५९ रुपैयाँ र मेथी १ करोड ४० लाख २४ हजार ९ सय ८६ रुपैयाँको मसला आयात भएको भन्सार विभागको तथ्यांक छ।