
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
तीनदिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको हो।
पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ। महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ।
विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने एमाले जनाएको छ। विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखसमेत विधान महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था रहेको छ।
पार्टीको जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ–सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यसमेत महाधिवेशन प्रतिनिधि रहनेछन्।
महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न मूल व्यवस्थापन समिति गठन गरिएको छ। पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजकको उक्त समिति गठन गरिएको हो। जसमा शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेका छन्।
समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो। पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवा सङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको बताइएको छ। कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।
विधान महाधिवेशनस्थल गोदावरीमा बिहीबारदेखि नै चहलपहल बढेको छ। राजधानी बाहिरका जिल्लाबाट आएका प्रतिनिधिहरु बिहीबार नै महाधिवेशन स्थल पुगेका थिए।
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या
१) केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु – १९६
२) केन्द्रीय आयोग तथा परिषद् – २१३
३) केन्द्रीय विभाग – ३१०
४) जनसंगठन – २२०
५) प्रदेश कमिटी – २२७१
६) उपत्यका विशेष कमिटी – १९८
७) सम्पर्क समन्वय कमिटी – ३६०
८) जिल्ला कमिटीका पदाधिकारी – ३६४
९) निर्वाचन क्षेत्रबाट – ४०७
१०) प्रवास क्षेत्र – १२६
११) स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु – ९३४
१२) एकता प्रक्रियाबाट समायोजन – ५३२
१३) केन्द्रीय कमिटीबाट मनोनीत – ५६६
जम्मा– ६३४७