
काठमाडौँ–मलेसिया जाने कामदारसँग स्वास्थ्य परीक्षण लगायत विभिन्न नाउँमा सिन्डिकेट खडा गरेर कामदार ठग्ने स्वास्थ्य व्यवसायी पक्राउ परेका छन् । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको ३९ वटा स्वास्थ्य संस्थाका सञ्चालकलाई प्रहरीले पक्रेको हो ।
आइतबार दिउँसोबाट अप्रेसन थालेको प्रहरीले काठमाडौँबाट ४४ र ललितपुरबाट ४ जना पक्राउ गरेको छ । यो सिन्डिकेटधारी संस्थाका अध्यक्ष कैलाश खड्का भने फरार छन् । जीएसजी महाराजगन्जका सञ्चालक पनि फरार भएका छन् । वान्स्टेप सेन्टरका सञ्चालक रामप्रसाद श्रेष्ठ भने पक्राउ परिसकेका छन् ।
अरु स्वास्थ्य व्यवसायी रहेका छन् । पक्राउ पर्ने स्वास्थ्य व्यवसायीमा कुलेश्वर पोलिक्लिनिकका प्रमुख मोनिका श्रेष्ठ, श्वर्णिम मेडिकल सेन्टरका म्यानेजर गणेश तिमल्सिना र सञ्चालक देवेन्द्र आचार्य, सुपर हेल्थ केयर सुकेधाराका सञ्चालक केशर थापा रहेका छन् ।
फ्युजन पोलिक्लिनिक एण्ड डाइनेसिक्स सेन्टर बिजुलिबजारका म्यानेजर सरिता गिरी, हिमाल डोयग्नोस्टिक क्लिनिक प्रालि कोटेश्व्वरका सञ्चालक मुकुन्द भट्टराई, मन्जुश्री मेडिकल सेन्टर कमलपोखरीका सञ्चालक निमीकुमारी तिवारी, सृजना मेडिकल सेन्टर बिजुलिबजार सञ्चालक रोजिना शाक्य, मुना शाक्य, र रमेश खत्री पनि पक्राउ परेको प्रहरी अपराध महाशाखाका डिएसपी मोहन थापाले जानकारी दिए ।
सनसाइन मेडिकल सेन्टर थापागाउँका म्यानेजर सुमन सत्याल, सुधा क्लिनिक प्रालिका म्यानेजर इश्वर भण्डारी, चेतना स्वास्थ्य सेवाकेन्द्र कोटेश्वरका म्यानेजर विदुर थापा र सञ्जालक चन्द्रमा राई पक्राउ परेका हुन् । पक्राउ परेका अन्यको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट विभिन्न सामान समेत बरामत भएको डिएसपी थापाले बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दिउँसो २ बजे मन्त्रालयमा बोलाएर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कारबाही थाल्न भनेका थिए । यसअघिनै गृहमन्त्री रामबहादुर थापासँग छलफल भैसकेको थियो ।
स्वास्थ्य परीक्षण लगायत विभिन्न नाममा एकतर्फि खडा भएका संस्था खारेज गर्ने श्रममन्त्रीले बुधबार निर्णय गरेपछि शुक्रबारबाट सिन्डिकेट धारी स्वास्थ्य व्यवसायी काम बन्द गरेर चलखेलमा लागेका थिए । अब स्वास्थ्य परीक्षण मन्त्रालयमा सुचिकृत भएका २ सय ३५ वटै स्वास्थ्य व्यवसायीले गर्न पाउने छन् ।
यस्तै मलेसिया जाने कामदारसँग माइग्राम्सका नाममा अनलाइन दर्ता भन्दै ३ हजार ३ सय, वायोमेट्रिकले स्वास्थ्य परीक्षण ४ हजार ५ सय, ओएससीले कामदार ल्याउने पासपोर्ट बुझ्न ३ हजार १ सय ६४, भिएलएन पासपोर्ट दूतावास र्पुयाउन ३ हजार ६ सय १६ रुपैयाँ लिने गरेको छ । जीएसजीले अध्यागमन सेक्युरिटि पास प्रमाणित भनेर ३ हजार २ सय र भिसा शुल्क वापत दूतावासले ७ सय रुपैयाँ लिँदै आएको छ । यसरी विभिन्न शिर्षकमा कामदार ठगिंदै आएका छन् ।
पहिले भिसा शुल्क ७ सय र स्वास्थ्य परीक्षण ३ हजार रुपैयाँ मात्रै लाग्थ्यो । एक पछि अर्को गर्दै मलेसिया जाने कामदार ठग्न विभिन्न संस्था खडा भएका थिए । अब भिसा शुल्क र स्वास्थ्य परीक्षणको मात्रै शुल्क तिर्नुपर्ने निर्णय भएको छ। इसका लागि मलेसिया सरकारसँग परराष्ट्र मन्त्रालयले पहल गरिसकेको छ ।
उता साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाको सिन्डिकेट कायम छ ।