न्युरोडका पसलहरुमा देखिन्छ दसैँको उत्साह

न्युरोडका पसलहरुमा देखिन्छ दसैँको उत्साह
+
-

काठमाडौँ – ‘दाइ मेरो साइजको हुडी देखाइस्यो न’, आठ वर्षकी मिसिसा शाहले असनमा लुगा व्यापारी बिक्की देवलाई भनिन्। आमासँग आएकी मिमिसाले आफ्ना लागि लुगा देखाउन आग्रह गर्दा उनी दंग परे। र, भने ‘हेर न त्यो हुडी हुन्छ होला तिमीलाई।’

मिमिसाले हुडीलाई देखाउँदै भनिन्, ‘यो मेरो साइजको हुडी होइन। यस्तै अर्को मेरो साइजको देखाइस्यो न!’ मिमिसाको कुरा सुनेर बिक्की खुसी हुँदै उनको साइजको हुडी खोज्न थाले। तर, उनको साइजको भेटिएन। बिक्कीले निरास हुँदै भने, ‘नानु तिम्रो साइजको त भेटिएन नि सरी ल। भोलि आऊ ल्याइदिन्छौँ ल!’

मिमिसा दसैँका लागि किनमेल गर्न आएकामा दंग थिइन्। उनकी आमाका अनुसार चाडपर्व भनेपछि मिमिसा हुरुक्कै हुन्छिन्। मिमिसाकी आमाले भनिन्, ‘कोरानाका कारण धेरै समयपछि यसरी बाहिर ल्याएको छु। ऊ निकै खुसी छ। र, उसले आफ्नो काम आफैँ गर्ने हो। मैले केही बोल्नै पर्दैन। ऊसँग जाने मात्र हो।’ हुन पनि हो, सो पसलमा मिमिसाकी आमा एक शब्द पनि बोलिनन्।

उनको ‘एक्साइटमेन्ट’ लाई देखेर व्यापारी बिक्कीलाई आफ्नो बालापनको सम्झना आयो। उनले बालापन सम्झँदै भने, ‘दसैँ भनेको त बच्चामै रामाइलो हुन्थ्यो। त्यतिबेला हामी पनि यसरी बाउआमासँग लुगा किन्न जान्थ्यौँ।’ तर यो नानी (मिमिसालाई देखाउँदै) को जस्तो बोल्न भने सकिन्थेन।

खैर, ‘अब त्यो बालापन त कहाँ आउँछ र !’ बिक्कीले भने। अब त आफूहरूको जिम्मेवारी निर्वाह गर्ने काम भएको बिक्की बताउँछन्। बिक्की बच्चाहरूका लुगा बेच्छन्।

बिक्की मिमिसाले भनेको लुगा दिन नपाउँदा निरास देखिए। ‘सबैका लागि नराम्रो लाग्दैन। कोही बच्चा नै माया लाग्दा हुन्छन् नि! अझ दसैँका बेला यति माया लाग्दो नानीले भनेको लुगा दिनै सकिएन’, उनले भने, ‘अक्सर साना बच्चाका लागि बाउआमाले छान्नुपर्छ। यहाँ नानीको जसरी डिमान्ड गर्ने थोरै हुन्छन्। आफ्ना लागि आफैँ भन्ने। निकै प्यारी बच्ची थिइन्।’

आफूले भनेअनुसार लुगा नपाएपछि मिमिसा आमाको हात डोर्‍याउँदै अर्को पसलतिर लागिन्। हुन त बाल हुन् या बूढा सबैलाई आफूले चाहेकै मन पर्छ। त्यसैले विशेषगरी दसैँमा बाआमा आफ्ना छोराछोरीले चाहेका लत्ताकपडा किन्ने गर्छन्।

त्यस्तै, असनको जुत्ता पसलमा आफ्ना बुबाका लागि जुत्ता हेर्दै थिए, कैलालीका हरि चौधरी। उनी पढाइका सिलसिलामा अनामनगर बस्छन्। साथै, काम पनि गर्छन्। दसैँका अवसरमा हरिले बुबाका लागि जुत्ता किन्न लागेको बताए। ‘सधैँ बुबाले हाम्रा लागि गर्नुभयो’, उनले भने, ‘मेरो पहिलो स्यालरीबाट बुबालाई जुत्ता लैजाँदै छु।’ बुबाका लागि पहिलोचोटि केही किन्दाको खुसी उनको अनुहारमा झल्किरहेको थियो।

दसैँको खुसी मेघा ज्ञवालीको अनुहारमा पनि देखियो। उनी पनि आफ्नो घर बुटवल जान किनमेलमा व्यस्त थिइन्। किनमेल सकेर उनी २५ गते घर जाँदै छिन्। ‘अरु बेला पनि घर जान रमाइलो लाग्छ’, उनले भनिन्, ‘तर दसैँमा घर जाँदा छुट्टै रमाइलो हुन्छ।’

बजारको अवस्था

न्युरोड, असन, भोटाहिटी बजार किनमेल गर्ने मुख्य थलो हुन्। किनमेलका लागि काहाँ जाने भन्नेबित्तिकै सबैको मानसपटलमा यी ठाउँको याद आउँछ। दसैँमा त झन् आउने नै भयो। किनमेलका लागि मुख्य बजार नै अधिकांशको रोजाइ बन्छ।

यसपालिको दसैँमा पनि किनमेलका लागि धेरैको रोजाइ न्युरोड, असन, भोटाहिटी परे। जसकारण यी ठाउँमा खुट्टा टेक्ने ठाउँसमेत छैन। हुनत सामान्य समयमा यस्तै भीड हुन्थ्यो। तर, यस बेला परिस्थिति जटिल छ। अर्थात् कोरोना कहर अझै यथावत छ। भीड भने सामान्य अवस्था जस्तै।

फुटपाथ पसलले भरिएका छन् भने सडक मोटरसाइकलले। ठाउँ नभएर बीच सडकमै पार्किङ गरिएको छ।

व्यवसायी प्रेम पुजारीका अनुसार भोटाहीटी, असनलगायत ठाउँमा पार्किङको जहिल्यै समस्या हुन्छ। दसैँका बेला भीडभाड बढी भएकाले झन् समस्या भएको उनले बताए।

के भन्छन् व्यापारी?

भोटाहिटीका व्यापारी प्रेम पुजारी दसैँका बेला राम्रै व्यापार भएको बताउँछन्। उनले भने, ‘गत वर्ष सोचेजस्तो व्यापार हुन नसके पनि यसपालि राम्रै व्यापार भएको छ।’

अर्का व्यापारी राजकुमार महर्जनको भनाइ पनि उस्तै छ। अबका केही दिन व्यापार हुने समय भएको उनी बताउँछन्। तर, असनका व्यापारी बिक्कीले सरकारले दसैँअगावै लकडाउन पूर्णरूपमा खोलेकाले राम्रो व्यापार भएको बताए। उनले भने, ‘सरकारले पहिले नै लकडाउन खोल्यो। जसकारण शिक्षित वर्गले दसैँका लागि भनेर खरिद गरिसके।

एक महिनाअघि राम्रो व्यापार भयो। अहिले पनि भइरहेको छ। जति भयो त्यतिबेला भयो। अब त थोरै दिन छ। अहिले जुन भीड देखिएको छ, त्यो निकै कम हो। त्यो बेला दिउँसोतिर भीड हुन्थ्यो। सबैले कोरोनाका कारणले पछि भीड हुन्छ भनेर पहिल्यै किनमेल गरेका कारण भीड अझै कम भएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?