
काठमाडौँ – काठमाडौँ जिल्ला समन्वय समितिको पाँचौं सभाले चालू आर्थिक वर्ष ७८÷७९ लागि एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँको बजेट पास गरेको छ।
सभामा जिल्ला समन्वय अधिकारी शिवसुन्दर राजवैधले उक्त रकम बराबरको बजेटअन्तर्गत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। पारित बजेटमध्ये ३८ करोड तलब, २७ करोड पदाधिकारीको पारिश्रमिकमा खर्च गरिने भएको छ। आठ करोड रुपैयाँ इन्धनका लागि खर्च गरिने छ। त्यस्तै बजेटमध्ये अनुगमन तथा मूल्याङ्कनका लागि ६ करोड ८० लाख विनियोजन गरिएको छ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला समन्वय समितिलाई तहमा गएका सशर्त र निशर्त अनुदानका कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने अधिकार दिएको छ। त्यस्तै विकास निर्माण, सुशासन, स्थानीय तहका बीचमा अनुभव आदानप्रदानलगायतका विषयमा जिससको समन्वयकारी भूमिका रहने उल्लेख गरिएको छ। काठमाडौँ जिल्लाका ११ वटा नगरपालिकाको योजना कार्यक्रम तथा आयोजनाहरुको जिससले अनुगमनको काम गर्दै आएको छ।
समन्वय अधिकारी राजवैधले स्थानीय तहको संस्थागत क्षमताको मूल्यांकन गरी नगरपालिकाको सेवा प्रभावकारिता वृद्धि गरी सुशासन प्रवर्द्धन गर्ने कार्यमा जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए। आगामी दिनमा स्थानीय तहको संस्थागत क्षमताको मूल्यांकन गरी कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने नगरपालिकालाई पुरस्कृत गर्ने उनले जानकारी दिए।
गत वर्ष विनियोजित २ अर्ब ५ करोड ६६ लाख बजेटमध्ये ७२ प्रतिशत खर्च भएको जानकारी उनले सभामा गराए। जिससको मौज्दात कोषबाट हालसम्म स्थानीय तहहरुको प्रशासकीय भवन, वडा कार्यालय भवन, खानेपानी योजनालगायत १४ वटा आयोजना कार्यक्रम स्वीकृत भएको र ३ वटा आयोजना सम्झौताको चरणमा रहेको राजवैधले बताए।
जिसस कोषमा हालसम्म ८९ करोड रुपैयाँ सञ्चित रहेको सभामा जानकारी दिइएको छ। ०७५ सालयता जिससको आम्दानी कोषमा ७ करोड आम्दानी जम्मा भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि पास नगर्दा योजना तथा कार्यक्रमका लागि उक्त रकम खर्च गर्न नसकिएको गुनासो उनले गरे।