
जनकपुरधाम – मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ। तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो। छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ।
आजको दिन छठ पर्वको सुरुवातको रुपमा रहेको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन जनकपुरधामसहित तराई मधेसका छठ व्रतालुहरु नुहाएर ‘अरबा अरबाइन’ खान्छन्। आजदेखि ‘मरुवा’ (कोदो), ‘मसुरीको दाल’ लगायत प्याज, लसुन पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ भन्ने प्रचलन रहेको छ।
छठ घाट तथा जलासयको साजसज्जामा स्थानीय जुटेका छन्। पोखरी, नदी, कुवालगायतका स्थानलाई मिलाएर साजसज्जाको काममा स्थानीय लागेका हुन्।
त्यस्तै छठको दोस्रो दिन मंगलबार दिनभर उपवास रही रातमा ‘खीर’ बनाई देउतालाई चढाएर व्रतालुले खान्छन्। यस विधिलाई ‘खरना’ भनिन्छ। खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाइने गरिन्छ।
त्यस्तै छठको मूल दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। त्यसको भोलिपल्ट बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ। बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्। जसलाई ‘पारन’ भनिन्छ।