
दाङ – राजपुर गाउँपालिका– ७ कुरुवाखोला निवासी विमला जैशीले हलो समाएको दश वर्ष नाघिसकेछ। यो बीचमा घरव्यवहार चलाउन बिमलाले थुप्रै उकालीओराली भोग्नुपर्यो। दूधे छोरालाई छाडेर श्रीमान रिखाराम कहाँ गए थाहा भएन।
श्रीमान घर नफर्किएपछि विमलाले एक छोरी र एक छोरालाई हुर्काउन, बढाउन धेरै कष्ट गर्नुपर्यो। आफै खेत जोेतेर धान, मकै छर्नेदेखि ज्याला मजदुरी गरेर खर्च जुटाइन्। ‘श्रीमान बेपत्ता हुनुभयो। घर चलाउन धेरै दुःख भोगेँ’, उनले भनिन्, ‘अहिले त छोरा पनि ठूलो भइसके। अब छोरा र मैले खेती गर्छाैं।’
माइती गाउँमा हुँदा विमलाले हलो समाउनुपरेको थिएन। माइती अन्यत्र गएपछि उनले खेतीपाती आफै गर्नुप¥यो। ‘न श्रीमान, न माइती। आफै खेतीमा डट्नुपर्यो’, उनले भनिन्, ‘भोकै बस्न सकिएन। अनि हलो समाएर खेत जोत्न थालेँ।’
करिब आठ कट्ठा जग्गा आफै जोतेर खेती गर्छिन् बिमला। अहिले बिमलालाई छोराले साथ दिन्छन्।
बिमलाका छोरा खिमबहादुर अहिले १० कक्षामा पढ्छन्। शुक्रबार उनी खेतमा भेटिए। गहुँ छर्न खेतमा रहेका उनले आमालाई सघाउन एकदिन विद्यालय नगएको सुनाए। ‘आज स्कुल जानुपर्ने थियो। तर गहुँ छर्ने मेलो भएकाले स्कुल गइनँ’, खिमबहादुरले भने, ‘हलो जोतेर आमाको दुःखलाई कम गर्न खोजेको छु।’
कुरुवाखोला गाउँमा बिमला जस्ता धेरै महिलालाई घरभित्र र घर बाहिरको दुवै कामको जिम्मेवारी छ। पुरुष कमाउन विदेश गएका महिलाहरुको यो नियति नै हो।
‘महिलाले हलो समाउँदा अनिष्ट हुन्छ भनिन्थ्यो’, बिमलाले भनिन्, खाेइ त केही भएन। हाम्रो गाउँका धेरै दिदीबहिनीले हलो जोतिरहेका छन्।’