
काठमाडौँ – वकिल तथा न्यायाधीशहरुको आन्दोलनका कारण न्याय सेवा अवरुद्ध भएको भन्दै केही दिनयता प्रदर्शन गर्दै आएकाहरुको समूहका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वोच्च अदालत अगाडि प्रदर्शनका लागि जम्मा भएकाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै २० जनालाई प्रहरीले पक्रेर लगेको छ। उनीहरुले विगत केही दिनदेखि वकिल र न्यायाधीशहरुको स्वार्थका कारण आफूहरुको न्यायको अधिकार कुण्ठित भएको भन्दै प्रदर्शन गर्दै आएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा आवद्ध वकिलहरुले प्रदर्शन गर्दै आएका छन्। बारले आज पनि सर्वोच्च परिसरमा धर्ना दिँदै प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने तयारी गरेका छन्।
यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि अधिकांश रुपमा इजलास बहिष्कार गर्दा मुद्दाको सुनुवाइ प्रभावित हुँदै आएको छ।