
काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको नक्सा तथा अन्य सामरिक र राष्ट्रिय महत्वका दस्तावेजहरुको सक्कल प्रति सरकारसँगै नरहेको खुलासा गरेका छन्।
नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले शनिबार गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले नेपालको नक्सा, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्वपूर्ण दस्तावेजको सक्कल प्रति नै सरकारसँग नरहेको बताएका हुन्।
यस्ता दस्तावेज गायब हुनुले हाम्रो राष्ट्रिय चरित्रको खुकुलोपन छताछुल्ल भएको भन्दै उनले दुःख व्यक्त गरे। नेपालबाट चोरिएका वा गायब पारिएका ऐतिहासिक महत्वका सामग्री फिर्ता ल्याउन पहल गर्ने पनि उनले बताए।
आफूले मन्त्रालयलको जिम्मेवारी सम्हालेको दुई महिना पनि नपुगेकाले नीतिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्नुभन्दा अध्ययनमा लागेको उनको भनाइ छ। तर परराष्ट्र नीतिको निर्माण तथा सञ्चालन राष्ट्रिय सहमतिबाट हुनुपर्ने आफ्नो मत रहेको बताए।
‘नेपाल एक प्राचीन मुलुकमात्रै होइन, उसले युद्ध, शान्ति, सम्झौता, सहमति र सन्धि जस्ता महत्वपूर्ण भोगाइ समेटेको छ। इतिहासको त्यो अनुभवबाट नेपालले धेरै कुरा हासिल गरेको छ’, उनले भने।
केन्द्रद्वारा आयोजित कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली, माओवादीका विदेश मामिला प्रमुख राम कार्की, अमेरिकाका लागि प्रस्तावित राजदूत प्रा. श्रीधर खत्रीसहितले नेपालको परराष्ट्र नीति र सम्भावनाबारे बोलेका थिए।
प्रा. खत्रीले एसियाली अध्ययन केन्द्रको स्थापनाको पहिलो दशकमा प्रकाशित जर्नलको स्तरीयताले नेपाल पञ्चायत व्यवस्थाकै बेला राष्ट्रिय र क्षेत्रीय मामिलाको अध्ययनमा अघि रहेको देखिने बताए। प्रारम्भिक प्रकाशनहरुको सम्पादकीय नेतृत्व गरेका प्रा. खत्रीले जर्नलमा स्तरीयता र वस्तुनिष्ठतासँगै त्यसले निरन्तरता पाउनुपर्ने बताए।
प्रकाशनको लामो अन्तरालमा केन्द्रका निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीको अग्रसरतामा पुनः प्रकाशित जर्नलको कार्यक्रममा लोकार्पण पनि गरिएको छ।